काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सङ्गठनको नीति र निर्देशनलाई शिरोपर गरी प्राप्त जिम्मेवारीलाई अक्षरस पालना गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देहीको नवौँ वार्षिकोत्सवको अवसरमा आज उनले यस्तो निर्देशन दिएका हुन् ।
आफ्ना व्यक्तिगत स्वार्थ र चाहनाहरू कहिल्यै पनि राष्ट्रको आवश्यकता भन्दा माथि नहुने उल्लेख गर्दै उनले आफूहरू सबैमा देश र देशवासीप्रतिको सेवा र समर्पणभाव सदैव अन्तर्निहित र अक्ष्ॉण्ण हुन जरुरी रहेको चर्चा गरे ।
उनले सीमा सुरक्षा देशको सार्वभौमिकता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील विषय भएकाले सीमानामा हुने गैरकानूनी क्रियाकलापले समग्र राज्यको अर्थतन्त्र र शान्ति सुरक्षामा नै प्रत्यक्ष असर पार्ने उल्लेख गरे । सशस्त्र प्रहरी बल नेपालको मुख्य जिम्मेवारी सीमा सुरक्षा भएकाले सीमा सुरक्षासँग सम्बन्धित हरेक विषयमा संस्थागत रूपमा जिम्मेवार, जवाफदेही र संवेदनशील भई कार्यसम्पादन गर्न सीमा सुरक्षार्थ खटिने सशस्त्र प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिएका छन् ।
उनले सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरूको सूक्ष्म निगरानी, सूचना सङ्कलन तथा विश्लेषण, अन्तरनिकाय समन्वयमा विशेष जोड दिनुपर्ने बताउँदै पछिल्लो समयमा लागूऔषधको अवैध ओसारपसार तथा प्रयोग गम्भीर सामाजिक समस्याको रूपमा बढ्दै गएको हुँदा सीमाक्षेत्रबाट हुने लागूऔषध ओसारपसार नियन्त्रणलाई विशेष प्राथमिकतामा राखी कार्य गर्न समेत निर्देशन दिए ।
यसैगरी, विपद् व्यवस्थापनको क्षेत्रमा बाहिनी तथा मातहत कार्यालयहरूले समेत उत्कृष्टताका साथ कार्यसम्पादन गर्दै आइरहेकोे चर्चा गर्दै महानिरीक्षक पौडेलले विपद्को समयमा आदेशको प्रतीक्षा गरेर बस्ने होइन, आफ्नो जिम्मेवारी र परिस्थितिको गाम्भिर्यता बुझी तत्काल परिचालित हुन निर्देशन दिएका छन् ।
वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा टिम, वर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, बाहिनीलाई सहयोग पुर्याउने विभिन्न संघसंस्था तथा महानुभावहरूलाई समेत कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
सोही अवसरमा महानिरीक्षक पौडेलले सो वाहिनी तथा वाहिनी मातहत कार्यालय प्रमुखहरूलाई विपद्को समयमा तत्काल परिचालन हुनसक्ने गरी आवश्यक उद्धार सामग्रीसहित तयारी हालत रहन, सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्न तथा त्यस्ता कार्यमा कुनैपनि सशस्त्र प्रहरी कर्मचारीहरू संलग्न नरहन, पछिल्लो समय देशका विभिन्न स्थानहरूमा भएका जातीय, धार्मिक तथा साम्प्रादायिक किसिमका विवादका विषयहरूले सुरक्षामा थप चुनौती थपिएको हुँदा चनाखो भई कार्य गर्नुपर्ने लगायतका विषयहरूमा निर्देशन दिएका छन् ।