काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर बस्ने नभइ आफ्नो जिम्मेवारी र परिस्थितीको गाम्भिर्यता बुझी तत्काल परिचालन हुन निर्देशन दिएका छन् ।
हिजो शनिबार सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सवको अवसरमा महानिरीक्षक पौडेलले सो निर्देशन दिएका हुन् ।
एक्लो प्रयासबाट मात्रै विपद्लाई पूर्ण व्यवस्थापन गर्न नसकिने हुँदा प्रभावकारी समन्वय र सहकार्य नै विपद् व्यवस्थापनको प्रमुख आधार भएको उल्लेख गर्दै उनले प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक समन्वय र सहकार्यका साथ विपद् व्यवस्थापनमा थप सक्रिय भई परिचालन हुनुपर्नेमा जोड दिएका छन् ।
महानिरीक्षक पौडेलले विपद् व्यवस्थापन, राजमार्गको सुरक्षा, सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण लगायत आन्तरिक सुरक्षाका विभिन्न घटनाहरूमा सशस्त्र प्रहरी कर्मचारीहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै कार्यक्षेत्रमा खटिने हरेक राष्ट्रसेवकहरू अझ व्यावसायिक भई इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ र परिस्थिती अनुरूपको निर्णय क्षमता राखी तत्काल परिचालन हुनुपर्ने बताए ।
उनले पछिल्लो समय देशका विभिन्न स्थानहरूमा भएका जातिय, धार्मिक तथा साम्प्रादायिक किसिमका विवादका विषयहरूले सुरक्षामा थप चुनौती थपिएको भन्दै त्यस्ता कार्यमा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीहरूले मानवअधिकारको पूर्ण पालना गर्दै कानूनी दायराभित्र रही न्यायोचित तरिकाले मात्र बल प्रयोग गर्नुकासाथै सुरक्षा परिचालन र कारबाहीमा समेत सशस्त्र प्रहरी बल नेपालको कुनै कमीकमजोरी नहुने तरिकाले परिचालन हुन निर्देशन दिएका छन् ।
-(1)-1787454244.jpeg)
आफ्नो व्यक्तिगत आग्रह पूर्वाग्रहलाई थाती राख्दै कमाण्डर तथा नेतृत्व वर्गसँग हातेमालो गरी सङ्गठन विकासमा एउटै लक्ष्यकासाथ अघि बढ्न र आफ्नो कर्तव्य पथमा अविचलित भई लागि रहन निर्देशन दिँदै महानिरीक्षक पौडेलले भने, ‘म होइन, हामी भन्ने मान्यताका साथ आफ्नो जिम्मेवारी बोध गरी परिचालित भएमा बृत्तिविकासका अवसरहरू आफै सिर्जना हुँदै जान्छन् ।’
उनले सीमावासीसँगको सुमधुर सम्बन्ध नै सीमा सुरक्षाको महत्वपूर्ण कडी भएको हुनाले उनीहरूको विश्वास, सहयोग र सहभागितालाई सीमा सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी रूपमा जोड्नुपर्ने बताउँदै सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई थप सुदृढ गरी अन्य कार्यक्रमहरू समेत सञ्चालन गर्नुपर्ने बताए ।
आपत् विपद्मा परेका आम नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालले एउटा भरोसा योग्य संगठनको रूपमा स्थापित भई राष्ट्र र संगठनले लिएको लक्ष्य अनुरूपको कार्य गर्नुपर्ने उल्लेख गर्दै उनले प्रत्येक कमाण्डरहरूले दण्द र पुरस्कारको नीतिलाई अझै कडाईका साथ लागू गरी कार्यक्षेत्रमा परिचालन हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा वार्षिकोत्सव अवसरमा संचालन गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा टिम, वर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, बाहिनीलाई सहयोग पुर्याउने विभिन्न संघसस्था तथा महानुभावहरूलाई समेत कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।