काठमाडौं । केही दिनअघि पदोन्नति भएका नेपाल प्रहरीका १० जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।
दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. दामोदर कंडेल, प्राविधिक प्रहरी उपरीक्षकहरू ई. अमरेन्द्र प्रसाद सिंह, राम बाबु राना, अभय कुमार झा र अनुप श्रेष्ठ, प्राविधिक प्रहरी नायव उपरीक्षकहरू ई. निशा चौधरी, ई. सन्जिप दाहाल, ई. रमेश कुमार साह र ई. अञ्जन राज खरेल तथा प्राविधिक प्रहरी निरीक्षक मिन प्रसाद खत्री छन् ।
उनीहरूलाई गत सोमबार गृहमन्त्रीस्तरको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना र गृह मन्त्रालय (सचिवस्तर) को निर्णयबाट प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ४ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा १ जना गरी जम्मा १० जना प्रहरी अधिकृतहरू पदोन्नति गरिएको थियो ।
दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृतहरू एवम् जवानहरूको समेत उपस्थिति रहेको थियो ।