सुनसरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले आज नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छन् ।
निर्देशनको क्रममा उनले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न तथा दैनिकरुपमा ट्राफिक चेकजाँचलाई प्रभावकारी बनाई तीव्र गति, ओभरलोड र मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी चलाउनेविरुद्ध कडाइका साथ ट्राफिक कारबाही गर्न निर्देशन दिएका छन् ।
यस्तै, नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गर्न राडार गन, सीसीटीभी, मापसे/लापसे जाँचकिट जस्ता आधुनिक प्रविधिको सही र अधिकतम प्रयोग गरी ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न तथा लामो दूरीका यात्रुवाहक सवारी साधनमा दुई जना चालक अनिवार्य भए/नभएको, भाडा दर सही भए/नभएको, आरक्षण सिटहरूको व्यवस्था र टाइम कार्ड लागू भए अनुसार सवारी साधन भए नभएको कडाईका साथ चेकजाँच गर्न पनि निर्देशन दिएका छन् ।
यसैगरी, चेकिङको क्रममा कसैलाई दु:ख हैरानी नदिई सेवाग्राहीप्रति शिष्ट र मर्यादित व्यवहारमा प्रस्तुत भई सडक सु–शासनको महसुस हुने गरी ट्राफिक व्यवस्थापन मिलाउन तथा सवारी दुर्घटना न्यूनीकरण गरी, सुरक्षित सडक बनाउन सवारी चालक, सहचालक, पैदलयात्री र विद्यार्थीहरूलाई समेत लक्षित गरी नियमित रुपमा ट्राफिक प्रशिक्षण दिनुपर्नेमा उनले जोड दिएका छन् ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख दिपक गिरीले ट्राफिक जनशक्ति परिचालन, सेवाप्रवाह तथा कोशी प्रदेशको ट्राफिक व्यवस्थापनको अवस्थाको बारेमा अवगत गराए । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु, मोरङ र सुनसरी जिल्लामा ट्राफिक व्यवस्थापनमा खटिने ट्राफिक प्रहरी अधिकृतका साथै ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।