काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापमा संलग्न देखिए जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूमाथि कडाईकासाथ कारबाही गर्ने बताएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सीमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुको आर्थिक सुशासन, कार्यसम्पादन र अनुशासनमा त्रुटि भेटिएमा तत्कालै छानविनमा ल्याई कारबाही गरिने बताएको हो ।
यसैक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत कार्यालयहरुमा कार्यरत सशस्त्र प्रहरी हवल्दार हरिबहादुर मगरसहित तीन जनाको अनुशासन र कार्यसम्पादनमा त्रुटि भेटिएपछि छानविन सुरू गरेको हो । उनीहरुलाई असार १० गते प्रधान कार्यालयमा झिकाई छानविन प्रक्रिया सुरू गरिएको हो ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालयहरू मातहत सीमा सुरक्षा गुल्मका गुल्मपति तथा बीओपीका कमाण्डहरुको कार्यसम्पादन कमजोर देखिएपछि ९ जनालाई फिर्ता बोलाइएको छ । त्यस्तै अनुशासनविपरीत कार्य गर्ने ६७ जना कर्मचारीहरुलाई समेत कारबाही गरिएको बताइएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सीमामा राजश्व चुहावट, अवैध क्रियाकलाप, चोरीतस्करी नियन्त्रण कार्यलाई सुदृढ गर्न तथा आर्थिक सुशासन कायम गर्ने हेतुले एउटै जिल्लामा लामो समय कार्यरत रहेका १ हजार ८०३ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई अन्तर जिल्ला सरुवा गरिएको छ ।
सरुवा गरिएका कर्मचारीहरु तराईबाट पहाड र पहाडबाट तराई मिलान गरिएको हो, भने बाँकी सशस्त्र प्रहरी कर्मचारीहरूलाई यसै हप्ता अन्तर जिल्ला सरुवा गरी सकिनेछ ।
संगठनले सीमा अपराध र तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ, भने आर्थिक अनुशासन विपरित कार्यमा संलग्न भएमा जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई कारवाही गरिने चेतावनीसमेत दिएको छ ।