काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सञ्चालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३४औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रमबीच सो समारोह सम्पन्न गरिएको हो ।
तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक अनोज भण्डारी, सर्वद्वितीय एवम् प्रहरी कारबाही तथा युक्ति प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. राज कुमार श्रेष्ठ, सर्वतृतीय एवम् कवाज प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक बसन्त समाल मगर, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. ज्योति शर्मा, शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी नायव निरीक्षक डम्बर सार्की र चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक सन्तोष चन्दलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा एआईजीपी शाहले तालिमसम्बन्धी गतिविधि समेटिएको पुस्तक ‘सङ्कल्प’ को विमोचन समेत गरे ।
सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका निर्देशक प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) दिनेश कुमार आचार्यले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत माघ २१ गतेदेखि सञ्चालित १०० दिन कार्यावधिको उक्त तालिममा प्राविधिक प्रहरी निरीक्षक २४ जना, प्राविधिक प्रहरी नायव निरीक्षक ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक २८ जना गरी कुल ६३ जना प्रशिक्षार्थीहरूले सफतलापूर्वक तालिम सम्पन्न गरेको जानकारी दिए ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रितहरूको उपस्थिति थियो ।