काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको डिजिटल फरेन्सिक प्रयोगशालालाई डिजिटल फरेन्सिकसम्बन्धी अत्याधुनिक सफ्टवेयर, हार्डवेयर तथा अन्य प्राविधिक उपकरण हस्तान्तरण गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा ती उपकरण हस्तान्तरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले अमेरिकी दूतावासले नेपाल प्रहरीको डिजिटल फरेन्सिक प्रयोगशालाको क्षमता अभिवृद्धिका लागि आधुनिक उपकरण, विशेष सफ्टवेयर तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे। उनले यस्तो सहयोग नेपाल र अमेरिकाबीचको विश्वास, मित्रता तथा साझा प्रतिबद्धताको प्रतीक भएको बताए ।

उनले हस्तान्तरण गरिएका आधुनिक उपकरणबाट डिजिटल फरेन्सिक प्रयोगशालाको क्षमता थप सुदृढ हुने विश्वास व्यक्त गरे। ती उपकरणको प्रयोगबाट डिजिटल प्रमाण संकलन, संरक्षण तथा विश्लेषण अझ प्रभावकारी हुने, प्रविधिसम्बन्धी अपराध अनुसन्धानमा सहजता आउने र आपतकालीन अवस्थामा आवश्यक प्रमाण छिटो संकलन गर्न सहयोग पुग्ने उनले बताए ।
कार्यक्रममा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले हस्तान्तरण गरिएका उपकरणले नेपाल प्रहरीको डिजिटल फरेन्सिक प्रयोगशालाको क्षमता विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले आधुनिक प्रविधिको प्रयोगले अपराध अनुसन्धान र प्रमाण संकलनलाई अझ प्रभावकारी बनाउने बताए ।
उक्त कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारी र अमेरिकी दूतावासका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।