विराटनगर । कोशी प्रदेशमा पर्यटकहरूको सुरक्षा, संरक्षण तथा सहजीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले सातदिने ‘पर्यटक प्रहरी अनुशिक्षण’ तालिम सुरू गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आयोजित तालिमको उद्घाटन मंगलबार प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले गरेका हुन् ।
उद्घाटनपछि एसएसपी थापाले नेपाल प्राकृतिक, सांस्कृतिक तथा धार्मिक विविधताले सम्पन्न मुलुक भएकाले स्वदेशी तथा विदेशी पर्यटकको सुरक्षा, संरक्षण र सकारात्मक अनुभव सुनिश्चित गर्न पर्यटक प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले पर्यटकप्रति मैत्रीपूर्ण व्यवहार, सहजीकरण र व्यावसायिक सेवा प्रवाहका लागि आवश्यक ज्ञान तथा सिप विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उल्लेख गर्दै सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गरे ।
कार्यक्रममा कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव कृष्णकुमार न्यौपानेले आर्थिक वर्ष २०८३/०८४ लाई पर्यटन वर्षका रूपमा मनाउने प्रदेश सरकारको लक्ष्यअनुरूप पर्यटक प्रहरीको क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकासका लागि तालिम आयोजना गरिएको बताए ।
तालिममा जुनियर प्रहरी अधिकृतसहित ३० जना प्रहरी कर्मचारी सहभागी रहेका छन् । तालिमले कोशी प्रदेशका पर्यटन गन्तव्यहरूको सुरक्षा, संरक्षण तथा पर्यटकमैत्री वातावरण प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।