रूपन्देही । नेपाल प्रहरीले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
सोमबार आयोजित कार्यक्रममा आत्महत्या, लागूऔषध दुव्र्यसन, सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतना प्रवाह गरिएको थियो ।
नेपाल प्रहरी केन्द्रीय संगित विद्यालयबाट ब्याण्ड डिस्प्ले प्रस्तुत गरिएको उक्त कार्यक्रममा एसिड आक्रमण तथा जलनसम्बन्धी जनचेतनामूलक प्रस्तुती एवम् लागूऔषध दुर्व्यसनी, सडक दुर्घटना, आत्महत्या तथा बालबिवाह सम्बन्धमा नाटक प्रस्तुतीका साथै लागूऔषध दुव्र्यसनबाट पीडित भई समाजमा पुन:स्थापित भएका व्यक्तिबाट अनुभव सहितको प्रस्तुती गरिएको थियो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधि तथा पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकार्मीहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।
विशेषगरी युवा पुस्ता, विद्यार्थी, अभिभावक तथा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै बढ्दो साइबर अपराध, लागूऔषध दुव्र्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षा लगायतका विषयमा सचेतना अभिवृद्धि गर्ने जनचेतनामूलक कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ ।