काठमाडौं । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा यतिबेला गर्मी विदाको छुट्टी छ ।
विद्यार्थी आ–आफ्नो घरमा बसेर स्कुलले दिएको गर्मी विदाको गृहकार्य गर्दैछन, अध्ययन गर्दै छन् । स्कुलका शिक्षकहरू भने विदामा बसेका विद्यार्थीहरूको घर घरमा पुगेरै विद्यार्थीको दैनिक गतिविधी, गृहकार्य, आचरण व्यवहार, अध्ययनको वातावतरण लगाएतका विषयमा जानकारी लिइरहेका छन् ।
अत्याधिक गर्मी बढेसँगै दैनिक पठनपाठन सञ्चालन गर्न कठिनाई भएर विद्यालयले गर्मी बिदा दिएको छ । शनिबार र आइतबारको छुट्टि समेत गरी गर्मी विदामा विद्यार्थीहरू ९ दिन घरमानै बस्नुपर्ने भएकाले शिक्षकहरूलाई विद्यार्थीहरूको घरघरमै पठाएर अध्ययन एवम् गृहकार्यमा सहजीकरण गर्ने गरी स्कुले शिक्षक–शिक्षिकाहरूलाई परिचालन गरेको हो ।
कक्षा एकदेखि दशसम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई विदाको समयमा समेत अध्ययन गतिविधिमा सलग्न गराइराख्न स्कुलले विद्यार्थीहरूलाई विभिन्न गृहकार्य, कार्यपत्र तयार गर्ने, व्यावहारिक अभ्यास गर्ने जस्ता गतिविधिमा सक्रिय रहन विदाको होमवर्क दिएको छ । स्कुलले दिएको यिनै गतिविधीमा विद्यार्थीलाई सक्रिय बनाइराख्न एवम सहजीकरण गर्न शिक्षकहरू पनि विद्यार्थीको घर घरमा पुगिरहेका छन् ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई उसको अध्ययनको अवस्था, विद्यार्थीका अभिभावकले विद्यालसँग गर्ने गरेको गुनासो, विद्यार्थीको पढाइप्रतिको अभिरुची लगायतका विषयलाई आधार मानेर विद्यार्थीहरूको समूह विभाजनसहित शिक्षक कर्मचारीहरूलाई होम भिजिटमा परिचालन गरीएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।







उनका अनुसार शिक्षकले घरमै पुगेर विद्यार्थीको अनुशासन, उसको पठनपाठनको अवस्था, शिक्षण शिकाइलाई सुधार गर्न अभिभावकको भूमिका, घरमा विद्यार्थीको अध्ययन वातावरणको अवस्था आदिका बारेमा जानकारी लिनुका साथै विदामा विद्यालयले दिएको गृहकार्यसँग सम्बन्धित विषयमा समेत अभिभावक एवम् विद्यार्थीहरूलाई सहजीकरण गर्ने गरी शिक्षकहरूलाई विद्यार्थीको घर घरमै परिचालन गरिएको हो ।
विद्यालय समयमा समेत मोबाइल, ल्यापटपका साथै सामाजिक संजालमा सक्रिय रहने विद्यार्थीहरू विदाको समयमा अझै बढी उल्लेखित साधनमा व्यवस्त रहने भएकाले घरमै बस्दा पनि अध्ययनलाई निरन्तरता दिने गतिविधिमा सलग्न गराउने उद्देश्यसहित शिक्षकलाई विद्यार्थीको घरमै पुगेर निगरानी गर्ने व्यवस्था मिलाइएको समादेशक थापाको भनाइ छ ।
विद्यार्थीको दैनिक पठनपाठन, शिक्षण सिकाइको अवस्थाको बारेमा अभिभावकसँग घरमै बसेर अन्तर्क्रिया गर्दा विद्यार्थीलाई अध्ययनको महत्वका साथै घरमा बसेर के–कसरी अध्ययन गर्ने, विद्यार्थीलाई अभिभावकले अध्ययन एवम् गृहकार्यमा के–कसरी सहजीकरण गर्ने सम्बन्धमा पर्याप्त जानकारी दिन सकिने भएकाले शिक्षक–शिक्षिका विद्यार्थीको घर घरमै पुगेका हुन् ।
शिक्षक शिक्षिकाले विद्यार्थीको घरमा पुगेर पठनपाठनका साथै अभिभावकहरूलाई सुरक्षा सचेतना समेत गराइरहेका छन् । विद्यालयसम्म विद्यार्थी छाड्न आउँदा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसाका कारण विद्यार्थीको पढामा पर्ने असर, विद्यार्थीको अगाडि अभिभावकले प्रस्तुत गर्नुपर्ने आचरण व्यवहारका साथै सामाजिक सञ्जाल प्रयोगबाट हुन सक्ने सम्भावित अपराधको बारेमा समेत अभिभावक एवम् विद्यार्थीहरूलाई सचेत गराएका छन् ।
नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले सुरक्षा, शिक्षा, अनुशासन र सामाजिकताका सम्बन्धमा विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप मार्फत विभिन्न विषयमा ज्ञान, सिप, कलामा प्रशिक्षण गर्दै आइरहेको समादेशक थापाले जानकारी दिए ।