मोरङ । नेपाल राष्ट्र बैंक तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य, आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानीसम्बन्धी अनुशिक्षण तालिम उद्घाटन गरिएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर बिश्वनाथ पौडेलको प्रमुख आतिथ्यता तथा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको विशिष्ट आतिथ्यतामा मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमबीच उक्त तालिमको समुद्घाटन गरिएको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर बिश्वनाथ पौडेलले वित्तीय प्रणालीको पारदर्शीता, सुशासन तथा आर्थिक स्थायित्व कायम गर्न सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा वित्तीय लगानी तथा आमविनाशका हातहतियारसँग सम्बन्धित वित्तीय अपराध नियन्त्रण अत्यन्त महत्वपूर्ण रहेको बताए । यस्ता अपराधको अनुसन्धान तथा निगरानीमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सूचना आदानप्रदान र दक्ष जनशक्ति उत्पादन गरी वित्तीय अपराधका नयाँ प्रवृत्ति र चुनौतीहरूलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको उनको भनाइ थियो ।
यसतै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेलले तालिमको महत्वसम्बन्धी जानकारी दिएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले स्वागत मन्तव्य तथा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुयाल, नेपाल राष्ट्र बैंकका निर्देशक शरण कुमार अधिकारी लगायतका पदाधिकारीहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख, जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, उदयपुरका प्रमुखहरू, प्रहरी अधिकृतहरू लगायत प्रशिक्षार्थीहरूका साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी तथा आम विनाशका हातहतियार निर्माण वा विस्तारसँग सम्बन्धित वित्तीय अपराधको अनुसन्धान, कानुनी व्यवस्था, जोखिम पहिचान तथा अनुसन्धान प्रविधिका विषयमा प्रशिक्षण प्रदान गरिने छ ।
वित्तीय अपराधको बदलिँदो स्वरूपलाई मध्यनजर गर्दै अनुसन्धान अधिकृतहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले अपराधको प्रभावकारी अनुसन्धान तथा नियन्त्रणमा सहयोग पुग्ने छ ।
पाँच दिनसम्म चल्ने तालिममा कोशी प्रदेश अन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने प्रहरी इकाईका अनुसन्धान शाखामा कार्यरत २४ जना जुनियर प्रहरी अधिकृतहरूको सहभागीता रहेको छ ।