विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ट्राफिक व्यवस्थापनसम्बन्धी प्रादेशिक गोष्ठी सम्पन्न गरेको छ ।
कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाई सवारी दुर्घटना न्यूनीकरण गरी सडक प्रयोगकर्तालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन कोशी प्रदेश ट्राफिक व्यवस्थापन प्रादेशिक गोष्ठी २०८३ को आयोजना गरिएको हो ।
बुधबार सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित दुर्गा पार्टी प्यालेसमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) विनोद घिमिरेको प्रमुख आतिथ्यतामा सो सम्बन्धी एक दिवसीय गोष्ठी आयोजना गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख अतिथि घिमिरेले ट्राफिक नियम सबैले जान्नुपर्ने तर जान्नेले पनि नमानेको कारण दुर्घटनाको सङ्ख्यामा बृद्धि भएको बताउँदै अब कोशी प्रदेशमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको बताए । गोष्ठीमा दुर्घटना न्यूनीकरणको लागी सरोकारवाला निकायहरूसँग भएका छलफल अन्तरक्रिया, योजनालाई कार्ययोजना बनाई कार्यान्वयन गरिने बताए ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुवनेश्वर तिवारीले नेपालको सवारी दुर्घटनाको स्थिति भयावह रहेको तथ्याङ्क प्रस्तुत गर्दै सडकलाई सुरक्षित बनाउन पूर्वाधारयुक्त सडक, दक्ष चालक, दुरुस्त सवारी हुनुपर्ने बताउँदै ट्राफिक प्रहरी कार्यसम्बन्धी चुनौती र सुधारका प्रयासहरूका बारेमा प्रस्तुति गरेका थिए ।
कार्यकर्ममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिपक गिरीले कार्य सम्पादन र अटोमेसन प्रणालीमा प्रभावकारीता एवं कोशी प्रदेशको समग्र ट्राफिक प्रहरी कार्यसम्बन्धी चुनौती र सुधारका प्रयासहरू विषयमा प्रस्तुतिकरण गरेका थिए भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाले गोष्ठीमा उपस्थित प्रमुख अतिथि लगायत सम्पूर्णमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गोष्ठीमा कोशी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय, यातायात व्यवस्था महाशाखाका प्रमुख उर्मिला निरौला, स्थानिय जनप्रतिनिधिहरू,यातायात व्यावसायी, पत्रकार महासंघ सुनसरीका प्रतिनिधि लगायत विभिन्न सरोकारवाला निकायहरूले ट्राफिक व्यवस्थापन सम्बन्धी गोष्ठीको शुभकामना सहितको आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
गोष्ठीमा जिल्ला ट्राफिक प्रहरी प्रमुखहरूले सवारी दुर्घटना न्यूनीकरण कार्ययोजना र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, कानुन विपरित कार्य गर्ने सवारी चालकहरूको सवारी अनुमति निलम्वन गर्ने कार्यलाई प्रभावकारी कार्यान्वयन, दुर्घटनामा घाइते र मृत्यु दर घटाउन ट्राफिक प्रहरीको योगदान, हराएका सवारी साधनहरूको खोजी, मापसे र लापसेको प्रभावकारी चेकिङ र अन्य सम्बन्धित स्टेक होल्डरहरूसँग समन्वय र सहकार्य लगायतको विषयमा प्रस्तुतिकरण गरेका थिए ।
गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ज्ञानेन्द्र प्रसाद फुयालले सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन प्रणालीको विकासमा जोड दिनुपर्ने बताउँदै गोष्ठीको प्रभावकारिताको शुभकामनासहित समापन मन्तव्य व्यक्त गरे ।
प्रभावकारी तथा परिणाममुखी ट्राफिक व्यवस्थापन, ट्राफिक प्रहरी युनिटहरूबीच तथा यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी युनिटहरूबीच समन्वय र सहकार्य अभिवृद्धि, दुर्घटना न्यूनीकरणका लागि एकीकृत कार्ययोजना निर्माण तथा कार्यान्वयन, सूचना आदान–प्रदान, यातायात व्यवस्था ऐन तथा नियमावली एवं प्रदेश यातायात व्यवस्था ऐन तथा नियमावलीसम्बन्धी जानकारी आदान–प्रदान, कानुनी प्रावधानहरूको कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपाय, दुर्घटना न्यूनीकरणमा रहेका चुनौतीहरू, सडक सुरक्षा सुदृढीकरण, जनचेतना अभिवृद्धि, प्रविधिको विस्तार, क्षमता अभिवृद्धि तथा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौतीहरूका विषयमा छलफल, अन्तरक्रिया तथा अनुभव आदान–प्रदान गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको छ ।
गोष्ठीमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी उपरीक्षकहरू, सवारी यातायात शाखा, यातायात व्यवस्था कार्यालय इटहरी, यान्त्रिक कार्यालय इटहरी, सडक विभाग, सडक आयोजना, बीमा संस्थान, यातायात व्यवसायी, १४ वटै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रतिनिधि/ट्राफिकका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, यातायात व्यवसायी, ड्राइभिङ्ग स्कुल, यातायात मजदुर संघ संगठन, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायत प्रहरी कर्मचारीहरू समेत गरी २०० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।