काठमाडौं । नेपाल प्रहरीले सडक र सवारीलक्षित मनसुनजन्ष् विपद् न्यूनीकरण अभियान २०८३ सुरू गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा काठमाडौँको नयाँबसपार्कमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीको प्रमुख आतिथ्यमा उक्त अभियानको शुभारम्भ गरिएको हो ।
नयाँ बसपार्कसहित कलंकी, नागढुङ्गा, फर्पिङ, भक्तपुर लगायतका विभिन्न स्थानमा सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरणका लागि नागरिक सहायता कक्ष स्थापना गरेरै आजदेखि सेवा दिन सुरू गरिएको प्रहरीले जानकारी दिएको छ ।
मनसुनको समयमा सडक दुर्घटना, पहिरो, डुवान, चिप्लोपन र पारदर्शिता लगायतका कारणले मानव जीवन र यातायात व्यवस्थापनमा ठूलो चुनौती सिर्जना हुँदै आएकोले यस्ता जोखिमलाई न्यूनीकरण गर्दै सडक सँस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एआईजी कार्कीसहित यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, राष्ट्रिय सडक सुरक्षा परिषद्का टेक्निकल एड्भाइजर सरोज प्रधान, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसीले मन्तव्य व्यक्त गरेका थिए ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले मन्तव्य मार्फत अतिथिहरूलाई कार्यक्रममा स्वागत गर्नुका साथै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख अधिकारी र व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सिटौलाले ‘लगेज ट्याग’ प्रणाली लागु गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।
उक्त अभियानको शुभारम्भ कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम प्रसाद अधिकारी, नगर प्रहरी, नाइमा नेपालका कार्यकारी निर्देशक राज कुमार दुलाल, नाडाका प्रतिनिधि, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भिम ज्वाला, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्म भण्डारी, ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन व्यवस्थापन शाखाका प्रमुख पंकज मल्ल, विभिन्न सामुदायिक सेवा केन्द्र अध्यक्ष तथा प्रतिनिधि, यातायात व्यवसायी र सञ्चारकर्मीको लगायतको उपस्थित रहेको थियो ।