काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ को एसइईको नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले सोमबार राति नतिजा प्रकाशन गरेको हो । यस वर्षको एसइईमा करिब ६६ प्रतिशत अर्थात् ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
गत चैत्र १९ देखि २९ सम्म भएको यस वर्षको एसईई परीक्षाको नतिजा एक महिनाभित्र प्रकाशित गर्न सरकारले निर्देशन दिएको थियो । सोही अनुरार दिनरात खटिएर यो नतिजा सम्भव भएको बोर्डले जनाएको छ ।
यस वर्षको एसइईमा सहभागी हुने विद्यार्थीको सङ्ख्या ५ लाख १२ हजार ४२१ रहेको थियो । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गरिएको थियो । हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण गरिएको र प्रत्येक तेस्रो दिनमा अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा उपलब्ध गराइने गरि व्यवस्थापन गरिएको थियो ।
त्यस्तै परीक्षा सकिएको चौथो दिनमा विद्यार्थीले प्राप्त गरेको अंक परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्था मिलाइएको थियो ।
कुन जिपिएमा कति ?
यस वर्षको एसईई परीक्षामा सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३९२ रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै जीपीए (३.२० देखि ३.६०) सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ८० हजार ३७२ रहेको छ भने २.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ९४ हजार २२२ रहेको छ ।
त्यसैगरी, ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएको बोर्डले जनाएको छ । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ५ हजार १९० रहेका छन् भने १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ७ जना रहेको बोर्डले जानकारी दिएको छ ।
एक लाख ४६ हजार विद्यार्थी नन ग्रेडेड
यस वर्षको एसईईमा एक लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका छन् । नतिजा अनुसार एसईईमा सहभागीमध्ये एक लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका हुन् ।
परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी थिए । जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी थिए ।
कसरी हेर्ने नतिजा ?
कार्यालयले एसईई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमइस, आईभीआर र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ । जसअनुसार नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस, युएसएसडी र आईभीआर सेवा उपलब्ध हुनेछ ।
यस्तै जानकी टेक्नोलोजी प्रालिको ३५००१ तथा एम्बिसन गुरु प्रालिको ३१००३ नम्बरमार्फत पनि एसएमएस सेवा प्रयोग गर्न सकिनेछ । साथै अन्य प्राविधिक साझेदारमार्फत् विभिन्न वेबसाइट तथा मोबाइल एपमार्फत् पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।