रूपन्देही । इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा निर्माण सम्पन्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
उक्त अवसरमा भवन निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले सीमित स्रोत–साधनका बाबजुद नागरिकप्रति जिम्मेवार हुँदै सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए । साथै, नयाँ भवनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी सेवा अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।
नवनिर्मित संरचनाले नागरिकलाई प्रहरी सेवामा सहज र सुरक्षित पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ । सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरूले आफ्नो व्यवहार र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा पनि जोड दिइयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी, कार्यक्रममा धन्यवाद तथा स्वागत मन्तव्यका साथै भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
बेलायत सरकारको सहयोगमा २ करोड ४१ लाख ४३ हजार ७ सय ५३ रुपैयाँ १२ पैसाको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालयका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका पदाधिकारी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।