विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूसँग भर्चुअल माध्यममार्फत आठ महिनाको कार्यसम्पादन समीक्षा गरेका छन् ।
आज बिहीबार आयोजित उक्त समीक्षामा चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म जिल्ला प्रहरी कार्यालयहरूले सम्पादन गरेका कार्यहरूको प्रगति विवरणमाथि विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक (डीएसपी) राम प्रसाद तिमल्सिनाले कोशी प्रदेश प्रहरी कार्यालयका तर्फबाट सबै जिल्लाको कार्यसम्पादनको तुलनात्मक प्रस्तुति गरेका थिए ।
समीक्षाका क्रममा प्रदेश प्रहरी प्रमुख डीआईजी घिमिरेले फरार प्रतिवादी पक्राउ, पेन्डिङ मुद्दा तथा चालु मुद्दाहरूको छिटो फछ्र्यौटलाई उच्च प्राथमिकतामा राखी प्रभावकारी रूपमा कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
त्यस्तै, कार्यसम्पादन सम्झौतामा उल्लेख भएका बुँदाहरू अनिवार्य रूपमा कार्यान्वयन गर्न, विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न तथा ग्रामीण तथा लामो दूरीका गस्तीलाई थप प्रभावकारी बनाउन उनले जोड दिएका छन् ।
घिमिरेले प्रहरीले आम नागरिकका समस्या समाधानमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै सेवा प्रवाहलाई अझ संवेदनशील, जिम्मेवार र परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।
उनले शान्ति सुरक्षा सुदृढ बनाउन प्रहरी संगठनले समुदायसँग सहकार्य गर्दै विश्वसनीयता बढाउनुपर्नेमा पनि जोड दिएका छन् ।