काठमाडौं । नेपाल प्रहरीका पूर्व कर्मचारीहरूले पुलिस स्कुल सञ्चालन एवम् व्यवस्थापनका सम्बन्धमा आफ्नो राय सुझाव दिएका छन ।
पुलिस स्कुल शान्तिपुर चितवनले आज आयोजना गरेको पूर्वप्रहरी कर्मचारीहरूसँग अन्तक्र्रिया एवम् छलफल कार्यक्रममा उपस्थित पूर्व प्रहरीहरूले विद्यालयले शैक्षिक सुधार, शिक्षक नियुक्ति एवम विद्यालय व्यवस्थापनका सम्बन्धमा आ–आफ्नो अनुभवसहितका राय सुझाव व्यक्त गरेका हुन् ।
नेपाल प्रहरीको विभिन्न दर्जाबाट अवकासप्राप्त चितवनस्थित पूर्व कर्मचारीहरूले आज पुलिस स्कुल पुगेरै विद्यार्थी भर्ना, विद्यालयको सेवा सुविधाबारे जानकारी लिनुका साथै विद्यालयको अवलोकन समेत गरेका थिए ।

पुलिस स्कुल शान्तिपुरले बहालवाला कर्मचारी, पूर्वप्रहरी, अमर अशक्त परिवारका सन्ततिलाई दर्जा अनुसारको सहुलियतसहित पठनपाठन गराइरहेको छ । प्रहरी स्कुलमा अध्ययन गर्ने विद्यार्थीलाई स्कुलले प्रदान गर्दै आएको शिक्षा, स्वास्थ, सुरक्षा, अनुशासनका साथै अपराधरहित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको पूर्वप्रहरी कर्माचारीहरूले बताएका थिए ।
पूर्वप्रहरी कर्मचारी सङ्गठन चितवनमा आवद्ध भएका कर्मचारीहरूको उल्लेख्य सहभागी रहेको कार्यक्रमा विद्यालयका प्राचार्य मुकुन्दराज कँडेल, संयोजक गणेश अधिकारी, सङ्गठनका चितवन अध्यक्ष बलबहादुर थापा, विद्यालय व्यवस्थापन समिति सदस्य पूर्वप्रहरी निरीक्षक सन्तोष पन्त, अमर प्रहरी परिवारका सदस्यहरूको उपस्थिति रहेको स्कुलका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।

प्रहरी स्कुल शान्तिपुर चितवनले आगामी शैक्षिक सत्रका लागि आह्वान गरेको नयाँ विद्यार्थी एवम् शिक्षक भर्नाको सम्बन्धमा पूर्वप्रहरी कर्मचारीहरूले समन्वय गर्ने एवम पूर्वकर्मचारी सङ्गठनको कार्यालयमा स्कुलको सम्पर्क कार्यालय स्थापना गर्ने कार्यमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत पूर्वकर्मचारीहरूले व्यक्त गरेका थिए ।
चितवनका विभिन्न स्थानमा गरि जिल्लाभर एक हजार १९६ पूर्व प्रहरी कर्मचारी रहेका छन ।