काठमाडौं । नेपाल प्रहरी स्कुलका विद्यार्थीहरूले ट्राफिक नियमसम्बन्धी जानकारी लिएर सामाजिक सेवाअन्तर्गत ट्राफिक स्वयंसेवकको रूपमा काम गरेका छन् ।
कक्षा दशको शैक्षिक गतिविधिको समाप्तिपश्चात एसईईको तयारीमा रहेका नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनका छात्र छात्राहरूले आज नारायणगढको सडकमा एक दिन ट्राफिक स्वयंसेवकको रूपमा काम गरेका हुन् ।
नजिकिँदै गरेको एसईईपश्चात प्रहरी विद्यालय छाड्ने विद्यार्थीहरूलाई लक्षित गरेर सचेतनामुलक कार्यक्रम एवम् विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने आचरण व्यवहार प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।
विद्यार्थीहरूलाई नेपाल प्रहरीको दैनिक कामकारबाही, अपराध अनुसन्धान एवम् विभिन्न विषयका कानुन ज्ञानका साथै सवारी तथा यातायात व्यवस्थापनसम्बन्धी महत्वपूर्ण प्रावधान, ट्राफिक नियम, कारबाही, जरिवाना एवम् सवारी दुर्घटना न्यूनिकरणमा एक जिम्मेवार नागरिकको भूमिका सम्बन्धमा सचेतना प्रदान गरिएको छ । सचेतना कक्षामा सहभागी छात्र छात्राहरूले आफूले सिकेका जानकारीहरूलाई ट्राफिक प्रहरीसँगै सडकमा खटिएर ट्राफिक स्वयम सेवकको भुमिका समेत निर्वाह गरेका थिए ।

ट्राफिक प्रहरीसँगै नारायणगढको विभिन्न व्यस्त चोकमा परिचालित ट्राफिक स्वयंसेवक विद्यार्थीहरूले सवारी नियम उलंघन गर्नेहरूलाई कारबाही गर्न सहयोग गर्ने, जेब्राक्रसिङबाट बाटो काट्न सहयोग गर्ने, सडक प्रयोगकर्ताहरूलाई सुरक्षित सडक प्रयोग गर्नेसम्बन्धी जानकारी दिनेलगायतका कार्य सम्पादन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनसँग समन्वय गरी नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनमा कक्षा दशमा अध्ययनरत ५३ जना विद्यार्थीहरूले आज सार्वजनिक सेवा अन्तर्गत ट्राफिक स्वयम सेवकको रूपमा एक दिन कार्य गरेको स्कुलका समादेशक प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लिनारायण पाण्डे, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापा, स्कुलका समादेशक प्रहरी निरीक्षक रोशन थापा, स्कुलका शिक्षक एवम् कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
उत्कृष्ट शैक्षिक वातावरणका साथै अनुशासन, सामाजिक व्यवहार, अतिरिक्त क्रियाकलाप लगायतका विषयमा विद्यालयस्तरबाटै छात्र छात्रालाई अभ्यस्त गर्दै आएको नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले विभिन्न परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । विद्यालयलमा आगामी शैक्षिकसत्रका लागि कक्षा १ देखि ९ सम्म भर्ना समेत खुलेको जानकारी दिइएको छ ।