काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिष्ठानकै प्राङ्गणमा आज आयोजित विशेष समारोहबीच वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।
वार्षिकोत्सव समारोहमा नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने अवकाशप्राप्त प्रहरी निरीक्षक ठागा प्रसाद चौधरीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।
यसैगरी प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा संचालन गरी दक्ष एवम् व्यावसायिक जनशक्ति उत्पादन गर्नमा उल्लेखनीय योगदान पुर्याई सर्वोत्कृष्ट तालिम केन्द्र बन्न सफल नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई सर्वोत्कृष्ट तालिम केन्द्रको रनिङ्ग शिल्डसहित प्रशंसापत्र प्रदान गरियो ।
यस्तै, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा–२०८२’ को लोकार्पण पनि सोही समारोहमा गरिएको थियो भने रस्साकस्सी खेलका विजेता तथा उपविजेतालाई पुरस्कार समेत प्रदान गरिएको थियो । सो अवसरमा प्रहरी प्रतिष्ठानमा कार्यरत रही उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक उमेश गुरूङ श्रेष्ठलाई पुरस्कार तथा खेलकुद गतिविधमा उल्लेखनीय सहयोग पुर्याउने रूप्से स्पोर्टस म्यानेजमेन्ट प्रालिलाई प्रशंसापत्र प्रदान गरिएको छ ।
उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीको एक आदर्श र अनुकरणीय संस्थाको रूपमा चित्रण गरिने यस प्रतिष्ठानको गरीमा, विशिष्टता र व्यावसायिकतालाई अक्षुण्ण राख्न प्रतिष्ठान परिवार सदैव कटिबद्ध रहेको बताए । सो अवसरमा प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, एमपिएस कार्यक्रमका सल्लाहकार, प्रहरी नायव महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।