काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा ‘काठमाडौँ उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी’ सम्पन्न भएको छ ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माको प्रमुख आतिथ्यता, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएशन (नाइमा) को सहकार्यमा गोष्ठी सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि केशव कुमार शर्माले जीवनलाई सहज बनाउने र विकासको गतिलाई अगाडि बढाउने पूर्वसर्तको रूपमा यातायात रहेको भए पनि सडक सुरक्षाको विषय निकै संवेदनशील हुँदै गइरहेको बताए । सडक सुरक्षा जस्तो संवेदनशील विषयमा एक निकायमात्र सक्रिय भएर नहुने र सरोकारावाला निकायका उच्च तहका व्यक्तिको समेत सहभागितामा सबैले यस विषयमा वकालत गर्नु पर्नेमा उनले जोड थियो ।
गोष्ठीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, राष्ट्रिय सडक सुरक्षा परिषद्, सडक विभाग, वातावरण विभाग, इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेशनका अध्यक्ष डाक्टर रोहित बालुजा, नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिका लगायतको तर्फबाट प्रस्तुतीकरण हुनुका साथै छलफल समेत भएको थियो ।
सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले गोष्ठीमा छलफल भएका विषयहरूमा सुझाव तथा टिप्पणी गरेका थिए ।
सडक सुरक्षा सुदृढीकरण तथा दुर्घटना न्यूनीकरण लागि काठमाडौं उपत्यकाको ट्राफिक अवस्थाको तथ्यमा आधारित विश्लेषण गर्नु, सरोकारवाला निकायबीच एकीकृत रूपमा समन्वय र सहकार्य प्रवर्द्धन गरी दिगो ट्राफिक व्यवस्थापनको आधार निर्माण गर्नु, ट्राफिक प्रहरीको क्षमता अभिवृद्धिका लागि अन्तराष्ट्रिय अनुभव, नविन अभ्यास तथा सुझाव आदान– प्रदान गर्नु, सडक प्रयोगकर्तामा सचेतना अभिवृद्धि गर्नु, सर्वसाधारण, विद्यालय/विश्वविद्यालय, विद्यार्थी र पेशागत चालकलहरूमा सडक सुरक्षासम्बन्धी सचेतना र जिम्मेवारी प्रवर्द्धन गर्नु यस कार्यशाला गोष्ठीको मुख्य उद्देश्य रहेको थियो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।