काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित विशेष समारोहबीच अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा वरिष्ठ पत्रकार लक्ष्मण हुमागाईँले ‘मिस इन्फर्मेसन’, ‘डिस इन्फर्मेसन’ र ‘डिफेक’को सम्प्रेषणले राष्ट्र र समाजमा पार्ने असर एवम् समाधानका उपाहरू तथा यसको नियन्त्रणमा सञ्चारकर्मीको भूमिकासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै, अवकाशप्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उक्त कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।
यसैगरी अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहले ‘मिस इन्फर्मेसन’, ‘डिस इन्फर्मेसन’ र ‘डिफेक’को सम्प्रेषणले उत्पन्न हुनसक्ने सुरक्षा चुनौती, अपराध अनुसन्धानमा हुने प्रभाव एवम् समाधानका लागि अवलम्बन गर्नुपर्ने रणनीतिहरूसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने वरिष्ठ पत्रकार प्रतीक प्रधानले प्रस्तुत भएको कार्यपत्रमाथि सञ्चारकर्मीहरूको तर्फबाट टिप्पणी प्रस्तुत गरेका थिए । दुबै कार्यपत्रमा सहभागीहरूबीच वृहत् रूपमा छलफल तथा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सूचना तथा प्रसारण विभागका महानिर्देशक, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, सञ्चारकर्मीहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति थियो ।
सञ्चारकर्मीहरूलाई अपराध अनुसन्धान प्रक्रियाको बारेमा जानकारी प्रदान गर्नु, नेपाल प्रहरी र सञ्चार माध्यमबीच प्रभावकारी सहयोग आदान प्रदानको रूपरेखा स्थापित गर्ने, दुवै पक्षको आ–आफ्नो भूमिका, साझा चुनौती र नैतिक द्विविधा सम्बोधन गर्ने, अपराध अनुसन्धानमा सञ्चार माध्यमको भूमिका, सार्वजनिक धारणा साथै यसको प्रभावको विश्लेषण गर्ने एवम् अपराध अनुसन्धान र अनुसन्धानात्मक प्रक्रियामा सञ्चार माध्यमको प्रभाव पहिचान गर्ने यस अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।