काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सञ्चालित प्रहरी व्यवस्थापन र परिचालन : विद्यमान चुनौतीहरू र भावी कार्यदिशा विषयक दुईदिने ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२’ सोमबार सकिएको छ ।
नेपाल प्रहरी रणनीतिक सम्मेलनका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले सम्मेलनको महत्वसम्बन्धी मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल प्रहरी रणनीतिक सम्मेलनको गतिविधि समेटिएको भिडिओ सामग्री समेत प्रस्तुत गरिएको थियो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल एसबीआई बैंकका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, विभिन्न क्षेत्रका विज्ञ, विद्यार्थीहरू लगायत आमन्त्रितहरूको उपस्थिति थियो ।
यसैगरी, सम्मेलनमा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली, पूर्व मुख्यसचिव लिलामणि पौडेल, अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, गृहमन्त्रालयका सहसचिव काली प्रसाद पराजुली, नविल बैंकका प्रमुख कार्यकारी अधिकारी मनोज कुमार ज्ञवाली, कानुनविद्हरू विष्णु सापकोट, अपुर्व खतिवडा, लक्ष्मी बखाड्यो, डा. रमेश पराजुली, गोपाल रिजाल, पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य, मानवअधिकारकर्मी कृष्ण पहाडी, सुरक्षाविद् चिरनजंग थापा, वरिष्ठ कलाकार राजेश हमाल, लेखक खगेन्द्र संग्रौला, अनुसन्धानकर्ता डा. खगनाथ अधिकारी, अन्तर्राष्ट्रिय विपद विज्ञ डा. सुमन कुमार कर्ण, सूचना प्रविधि विज्ञ गौरव राज पाण्डे, दीपक मल्ल, डा. श्रीधर मरासिनी, मनोज शाक्य, सडक पूर्वाधार विज्ञ ई. पार्थ पराजुली, सुनिल पौडेल, अनिल मर्सानी लगायत विभिन्न क्षेत्रका विषय विज्ञहरूको सहभागिता थियो ।
-1770659208.JPG)
सम्मेलनमा नेपाल प्रहरीको सञ्चालन, सुपरीवेक्षण र समन्वय, अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिदृश्यमा सुरक्षा चुनौती र प्रहरी रणनीति, अपराधका पारम्परिक र नवीनतम् प्रवृत्तिहरू, विरोध प्रदर्शन व्यवस्थापन, विश्वास, सहकार्य र सुधार : नेपाल प्रहरी र नागरिक सम्बन्धको रूपान्तरण, नेपाल प्रहरीमा मानवस्रोत व्यवस्थापन, नेपाल प्रहरीमा सूचना प्रविधि, सञ्चार र कृत्रिम बुद्धिमत्ता, विपद व्यवस्थापनमा प्रथम उद्धारकका रूपमा नेपाल प्रहरी, सडक सुरक्षा प्रवर्द्धनमा प्रहरी भूमिका लगायतका विषयहरूमा सहभागी र विषय विज्ञबीच वृहत रूपमा छलफल एवम् अन्तरक्रिया भएको थियो ।
नेपाल प्रहरीको कार्य समीक्षा र यसका रणनीति निर्धारणका प्रक्रियामा बौद्धिक वृत्त, नागरिक तहको सहभागिता र अपनत्व विकास गर्नु, विद्यमान परिवेशमा आन्तरिक र बाह्य चुनौतीहरूको समग्र मूल्याङ्कन गर्नु, नेपाल प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयन योग्य कार्ययोजनाका लागि सम्मेलनबाट सुझाव र मार्गदर्शन प्राप्त गर्नु, विद्यमान सङ्गठन सञ्चालनको अवस्था र सुधारका उपायहरू समीक्षा गर्दै प्रभावकारिता र कार्यकुशलता अभिवृद्धिका उपायहरू पहिचान गर्नु एवम् नेपाल प्रहरी प्रतिको दृष्टिकोण र जनअपेक्षाको सन्दर्भमा सेवा प्रवाहका प्रमुख क्षेत्रहरूमा सुधारका उपायहरू पहिचान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताइएको छ ।