काठमाडौं । नेपाल प्रहरीको वार्षिक कार्यसम्पादन सम्झौता २०८२/०८३ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आज शुक्रबार आयोजित विशेष कार्यक्रमबीच अर्धवार्षिक कार्य प्रगति समीक्षा गरिएको हो ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका पाँच वटै विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सात वटै प्रदेश प्रहरी कार्यालयहरूको समग्र कार्यसम्पादन सम्झौताको अर्ध वार्षिक प्रगती समीक्षासम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता २०८२/०८३ को अर्धवार्षिक अवधिका प्रमुख उपलब्धिहरू, कार्यसम्पादन सम्झौता कार्यान्वयनका चुनौतीहरू, प्रगती प्रतिवेदनमा देखिएका समस्याहरू र कार्यसम्पादन सम्झौता कार्यान्वयनमा सुधारका क्षेत्रहरू लगायतका विषयवस्तुहरू समेटिएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति थियो ।