सर्लाही । सर्लाहीको बरहथवामा नवनिर्मित प्रहरी कार्यालय भवन उद्घाटन गरिएको छ ।
इलाका प्रहरी कार्यालय बरहथवाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन आज बिहीबार उद्घाटन गरिएको हो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सो भवन उद्घाटन गरे ।
कार्यक्रममा अवसरमा भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गरियो भने बरहथवा नगरपालिकाका प्रमुख कल्पना कुमारी कटुवाल र सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले धन्यवाद मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा यूएनओपीएसका अपरेशन को–अर्डिनेटर एवम् अवकाशप्राप्त प्रहरी वरिष्ठ उपरीक्षक इन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा यूएनओपीएसका इन्फ्रास्ट्रक्चर म्यानेजर शिशिर उपाध्यायले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । यूएनओपीएसको सहयोगमा कुल दुई करोड ३७ लाख ६३ हजार ३८२ रूपैयाँ ५७ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति थियो ।