काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गरी गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल माध्यमबाट छलmफल गरेको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले उक्त छलफल गरिएको बताइएको छ ।
गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा जिल्लागत शान्ति सुरक्षाको अवस्था, ’प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ को कार्यान्वयन, निर्वाचन आचारसंहिताको परिपालना तथा मतदान स्थलमा खटिने सुरक्षाकर्मी, कर्मचारी र आवश्यक बन्दोबस्तका सामान एवं मतपेटिका ढुवानी व्यवस्थापनका विषयमा छलफल भएको थियो ।
छलफलका क्रममा सीमा नाकामा उच्च निगरानी राख्ने, छिमेकी मुलुकका समकक्षीसँग समन्वय गर्ने, र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्दै धार्मिक सहिष्णुता एवं सामाजिक सद्भाव कायम राख्ने विषयमा विशेष जोड दिइएको छ ।
मन्त्रालयका महाशाखा प्रमुखहरू तथा विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको उक्त बैठकले चाडपर्वका समयमा उच्च सुरक्षा सतर्कता अपनाउन र जिल्ला सुरक्षा समितिलाई दिइएका निर्देशनहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशित गरेको छ ।