कपिलवस्तु । वडा प्रहरी कार्यालय चन्द्रौटा परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन उद्घाटन गरिएको छ ।
मंगलबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले भवन उद्घाटन गरे । मुलुकको संवेदनशील र जोखिमयुक्त वर्गमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई सेवा, सुरक्षा, सहायता र न्यायको वातावरण उपलब्ध गराउनु नेपाल प्रहरीको प्रमुख दायित्व भएकाले सेवालाई पनि वर्गीकरण गर्न भवन निर्माण गरिएको बताइएको छ ।
सो अवसरमा उनले उक्त नवनिर्मित भवनको अवलोकन गर्नाका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका छन् । साथै भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र यूएनओपीएस नेपालका कन्ट्री म्यानेजर कोमल कार्कीले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
-1770135327.jpeg)
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र खत्रीले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रममा यूएनओपीएसका सिनियर एड्भाइजर एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा यूएनओपीएसका इन्फ्रास्ट्रक्चर म्यानेजर शिशिर उपाध्यायले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यूएनओपीएसको सहयोगमा कुल २ करोड ३६ लाख ६४ हजार ७ सय १ रूपैयाँ ८२ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति थियो ।