काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्ट्याटसमा गरेको कमेन्ट निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक अभिव्यक्ति दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी परेको हो ।
आयोगमा धर्मराज तिमिल्सिनाले सो उजुरी दिएका हुन् ।
उजुरीमा बालेनले कमेन्टमा प्रयोग गरेको ’७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू गम्भीर र तथ्यहीन आरोप भएको दाबी गर्दै यसले राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदाताको मानसिकता भ्रम उब्जाउने उल्लेख गरिएको छ ।
उजुरीमा नेपालको संविधान, निर्वाचन आचारसंहिता र प्रचलित कानुनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति तथा अपुष्ट आरोप प्रयोग गरी मतदातालाई प्रभावित पार्न निषेध गरेको स्मरण गराउँदै सो अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आचारसंहिताविपरीत ठहर भएमा आवश्यक कारबाही गर्न माग गरिएको छ ।
आइतबार ओलीले लेखेको स्ट्याटसमा कमेन्ट गर्दै बालेनले ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको आफू पनि त्यसमा सामेल भएको बुझिने भन्दै बहसमा नबस्ने बताएका थिए ।