काठमाडौं । कर्णाली प्रदेशस्तरीय एकदिने सुरक्षा गोष्ठी, २०८२ सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । कार्यक्रमलाई गृहमन्त्री ओमप्रकाश अर्यालले प्रमुख आतिथ्यता प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले देशमा शान्ति सुव्यवस्था कायम गर्ने र विधिको शासनको पालना गर्दै सुदृढ सेवा प्रवाह गर्नुनै वर्तमान सरकारको मुख्य कार्यभार रहेको बताए । स्वतन्त्र र निष्पक्ष वातावरणमा आसन्न निर्वाचन सम्पन्न गराउन आवश्यक सुरक्षा योजना एवम् रणनीति अवलम्बन गरी देखा परेका सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्दै सुरक्षा व्यवस्थापनलाई अझ सुदृढ गर्दै कार्य गर्न उनले निर्देशन दिएका छन् ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र कर्णाली प्रदशका प्रमुख सचिव वीरेन्द्र कुमार यादवले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
गोष्ठीमा नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठ, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की र गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह–सचिव आनन्द काफ्लेलेले आ–आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गरेका थिए ।
कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रमलगायत विविध विषयमा प्रस्तुतीकरण गरिएको थियो ।
गोष्ठीमा कर्णाली प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो ।
गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।