काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले व्यावसायिकताका साथ कार्यक्षेत्रमा लाग्न सशस्त्र प्रहरीका अधिकृतहरूलाई निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आइतबार आयोजित विभिन्न दर्जामा पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गर्ने क्रममा महानिरीक्षक अर्यालले उक्त निर्देशन दिएका हुन् ।
पदोन्नतिसँगै थपिएको पदीय जिम्मेवारीलाई अझ बढी उत्तरदायी भई राष्ट्र र सङ्गठनले लिएको निर्दिष्ट लक्ष्य प्राप्त गर्न कार्यक्षेत्रमा सकारात्मक सोच र पूर्ण व्यावसायिकताका साथ लाग्न उनले निर्देशन दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन गर्न सशस्त्र प्रहरी कर्मचारीहरू मानसिक तथा साङ्गठनिक तवरमा पूर्ण रुपमा तयार रहन पनि उनले निर्देशन दिएका छन् ।
महानिरीक्षक अर्यालले कठिन परिस्थितिमा समेत सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा देखाएको साहस, अनुशासन र कर्तव्यपरायणताको सराहना गर्दै भ्रष्टाचार एवम् लैङ्गिक हिंसामा शून्य सहनशीलता, मानवअधिकारको संरक्षण र सम्वर्द्धनमा सदैव कटिवद्ध एवम् कर्तव्यपथमा पूर्ण व्यावसायिक भई आपसी भाइचारा, बन्धुत्व, सद्भाव र सहयोगी भावनासाथ कार्यक्षेत्रमा परिचालन हुनुपर्ने उल्लेख गरे ।
गृहमन्त्रीस्तरको निर्णयबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा कृष्णराज पाठक, सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा समिक कुमार महर्जन र प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा डा.प्रविण नेपाल बढुवा भएका थिए ।
त्यसैगरी अवकाशपूर्व सशस्त्र प्रहरी निरीक्षकमा समेत दुई जना अधिकृतहरु विशेष बढुवा भएका थिए ।