चितवन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी सहायक निरीक्षक (असई) हरि प्रसाद भट्टराई बागमती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
नेपाल प्रहरीको बागमती प्रदेश कार्यालय, हेटौंडाले जिल्लामा उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरका असई भट्टराईलाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत असई भट्टराईले गत असोज १२ गते चितवनको भरतपुर महानगरपालिका–५ स्थित कल्याणपुरमा पैदलयात्रीलाई ठक्कर दिई गम्भीर घाइते बनाइ फरार रहेको गोरखाको गोरखा नगरपालिका–१३ का २७ वर्षीय सुमित गुरुङलाई काठमाडौंको बौद्धबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएका थिए ।
यस्तै, मंसिर महिनामा चितवनका विभिन्न स्थानबाट लागू औषध ट्रामाडोल २७०७ क्याप्सुल, गाँजा ९ किलो ९६९ ग्राम, खैरो हेरोइन २५३ ग्रामसहित ४५ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएका थिए । यसैगरी, लेनदेन मुद्दामा एक करोड ६४ लाख बिगो रकम कायम भई फरार रहेका प्रतिवादी तथा चेक अनादर मुद्दामा १५ लाख बिगो रकम कायम भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याएका थिए ।
अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा उनको कार्यको उच्च मूल्याङ्कन गर्दै निरन्तरताको साथ अन्य प्रहरी कर्मचारीहरू समेतलाई प्रोत्साहित गर्न जिल्लालाई ‘महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी छनोट कार्यविधि, २०७९’ अनुसार २०८२ साल मंसिर महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको बताइएको छ ।