काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा विशेष समारोहबीच प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
गृहमन्त्रीस्तरको २०८२ पुस २ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा एक जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ पुस २ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा तीन जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा चार जना गरी ८ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।
दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई.हरि डंगोल, प्राविधिक प्रहरी उपरीक्षकहरू ई.केविन जंग थापा, ई.रोसन सारू र ई.सुन्दर लाखे तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू दिपक केसी (खत्री), बिमल कार्की, ओम प्रकाश शर्मा र कृष्ण बहादुर बस्नेत रहेका छन् ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. हरि डंगोलले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यावसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति थियो ।