काठमाडौं । एक दिवसीय गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ कास्कीको पोखरामा सम्पन्न भएको छ ।
नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको संयुक्त आयोजना र गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा आज सोमबार उक्त गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीमा नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठ, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह–सचिव गोविन्द रिजाल, गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे लगायतले आ–आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गरेका थिए ।
गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गत ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गरेका थिए । साथै, गण्डकी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल समेत भएको थियो ।
गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गत ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।