काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले जनअपेक्षाअनुरूप सेवा प्रवाह गर्न र आपराधिक तत्वहरूलाई निस्तेज गर्न सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आज बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै जनअपेक्षाअनुरूप सेवा प्रवाह गर्न र आपराधिक तत्वहरूलाई निस्तेज गर्न सामूहिक प्रयत्न आवश्यक रहेको बताएका हुन् ।
प्रहरी कर्मचारीहरूको साहस, चरित्र र व्यावसायिकतालाई सांगठनिक लक्ष्य प्राप्ति गर्ने पथप्रदर्शक शक्ति र सामर्थ्यको रूपमा लिएको बताउँदै यसकै जगमा अझ जनविश्वास आर्जन गर्न जनअपेक्षाअनुरूपको सेवा प्रवाह गर्न र आपराधिक तत्वहरूलाई निस्तेज गराई भयरहित समाज निर्माण गर्न सबैको सामुहिक प्रयत्न आवश्यक रहेको उनको भनाइ छ ।
प्रहरी महानिरीक्षक कार्कीले विशेष परिस्थितिमा निर्माण भएको विद्यमान सरकारले जनआकांक्षाअनुरूप देशमा सुशासन कायम गर्ने र निकट भविष्यमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल अभिष्ट राखेको उल्लेख गर्दै विभिन्न आयामका सुरक्षा चुनौतीहरूको कारणले समग्र सुरक्षा संवेदनशीलता बढेको र यो विषम परिस्थिति र सङ्कटपश्चात उठ्दै गरेका प्रहरी संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारी र समग्रमा नेपाल प्रहरी प्रति असाधारण किसिमका अपेक्षाहरू रहेको तथ्यप्रति आफू पूर्णरूपमा जानकार र सजग रहेको बताएका छन् ।
असामान्य र असाधारण सुरक्षा परिस्थितिमा राष्ट्र र नागरिकहरूको सेवाका लागि नेपाल प्रहरीका सकल दर्जाले लिएको अग्रसरता, साहस र धैर्यताको उच्च प्रशंसा गर्दै जस्तो सुकै प्रतिकुल परिस्थितिको अवस्थामा पनि तत्काल पुनर्जागृत भई राष्ट्र र जनताको सेवामा जुट्ने नेपाल प्रहरीको मूल चरित्र र सामथ्र्यलाई फेरि एकपटक पुन: पुष्टि गरेको उनले बताए ।
असाधारण परिस्थितिले असाधारण कर्तव्यपरायणताको अपेक्षा राखेको हुने बताउँदै प्रहरी महानिरीक्षक कार्कीले भने, ‘आजको यस परिस्थितिमा हामीले हाम्रा व्यक्तिगत स्वार्थहरूलाई थाती राखेर सुशासन प्रतिको असाधारण जनअपेक्षा अनुरूपको संगठन निर्माण र तदनुरूपको सेवा प्रवाह गर्नका लागि अहोरात्र आफ्नै काम सम्झेर, घरकै काम सम्झेर मुलुकलाई शिरमा राखेर खटिनुपर्ने अवस्था छ । साधन स्रोतको अभावको देखाएर बसिराख्ने छुट हामीलाई प्राप्त छैन । भनिन्छ प्रतिकुल परिस्थितिमा नै मानिसहरूको वास्तविक क्षमताको मूल्याङ्कन हुन्छ । मान्छेको वास्तविक परिचय पनि त्यही निर हुन्छ ।’
नवीनतम् प्रविधिको रूपमा साइबरसम्बन्धी अपराधहरू एवम् आर्थिक तथा वित्तीय प्रकृतिका अपराधहरू असाधारण रूपमा वृद्धि भइरहेको, लागूऔषधको दुर्व्यसन र दुरूपयोग, आत्महत्या तथा सडक दुर्घटनाका भयावह अवस्थाहरू रहेको उल्लेख गर्दै यस्ता चुनौतीहरूको सम्बोधन गर्न एकल प्रयास वा सीमित प्रहरी कर्मचारीहरूको प्रयासबाट मात्र सम्भव नहुने हुँदा सबैको सामूहिक सक्रियता, अग्रसरता र सिर्जनशीलता आवश्यक रहेको उनको भनाइ छ ।
महानिरीक्षक कार्कीले संगठनात्मक र व्यक्तिगत रूपमा आम नागरिकहरू प्रतिका व्यवहारलाई अझ परिमार्जन र सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आपराधिक प्रवृत्ति विरूद्ध कठोर रूपमा र आम नागरिकसँग अपेक्षा अनुरूप व्यवहार गरी सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । आ–आफ्नो आचरण र व्यावसायिकतालाई व्यक्तिगत पुँजीको रूपमा मात्र ग्रहण नगरेर सांगठनिक आस्था र सम्मानको साधनको रूपमा ग्रहण गर्नुहुन सबै प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिए ।
प्रहरीको सर्वोच्च पदमा पुगेका दानबहादुर कार्की को हुन् ?