काठमाडौं । काठमाडौँमा राति नौं बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै देउसी–भैलो लगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले बेलुका ९ बजेसम्म गर्न समय तोकिदिएको छ ।
प्रशासनले सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसी–भैलो खेल्न नपाइने जानकारी दिँदै सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई वाधा पर्ने गरी कुनैपनि प्रकारको पुजा मण्डप वा दीपावली उत्सव स्थल बनाउन नपाइने जनाएको छ ।
सूचनामा उल्लेखित कुराहरूको बर्खिलाप हुने गरी कोही कसैले कुनै गतिविधि गरे/गराएको पाइएमा नजिकैको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नं. १०० वा मोबाइल नं. ९८५१२८३०२६, ९८५१२८३८३६ मा सम्पर्क गरी जानकारी गराउनुहुन समेत अनुरोध गरिएको छ ।
काठमाडौँ प्रशासनले तिहार लक्षित गरेर निम्नानुसार गर्न गराउन आग्रह गरेको छ–
१. दिपावलीको अवसरमा मैनवत्ती तथा विजुलीको प्रयोग गर्दा सावधानी अपनाउनु हुन, आतिसवाजी, पटाका, भुइचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद–बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न/नगराउनु हुन ।
२. देउँसी–भैलो लगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले बेलुका ९:०० बजेसम्म गर्नुहुन ।
३. देउसी–भैलो खेल्दा कोही कसैको गुनासो नआउने गरी मात्र खेल्ने व्यवस्था मिलाउनुहुन ।
४. सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसी–भैलो खेल्न पाइने छैन । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई वाधा पर्ने गरी कुनैपनि प्रकारको पुजा मण्डप वा दीपावली उत्सव स्थल बनाउन पाइने छैन ।
५. चाडपर्वको समयमा आ– आफ्नो घर / निवासको सम्पत्ति चोरीको सम्भावना अधिक हुने गरेको विगतको घटनाबाट समेत पुष्टि भएको विषय सर्वविदितै छ । अत: घर खाली नहुने गरी चनाखो र सतर्क भै आ–आफ्नो घर रेखदेख गर्नुहुन, घर छोड्नुपरेको खण्डमा छिमेकीलाई जानकारी गराउनुहुन र शंकाष्पद व्यक्ति आएको खण्डमा नजिकको प्रहरी एवम् सुरक्षा इकाईमा खबर गर्नुहुन अनुरोध छ ।
६. चाडपर्वको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल् पुग्ने कुनै पनि गतिविधि नगर्न/नगराउनु हुन् । अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मुल्यवृद्धि, म्याद नाघेका वस्तु विक्री वितरण गर्ने लगायतका उपभोक्ता हित विपरितका कार्यहरू नगर्नु/नगराउनुहुन ।
७. सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको भाडादर भन्दा बढी भाडा नलिने, ट्राफिक नियम पालना गर्ने/गराउने ।
८. गैरकानूनी रूपमा चिठ्ठा, जुवातास र अनलाइन सपिङका नाममा हुने अवैध कारोवार तथा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्ने ।
