काठमाडौं । ‘प्रथम महिला प्रहरी सम्मेलन, २०८२’ काठमाडौंमा सुरू भएको छ ।
‘साझा जिम्मेवारी समान प्रतिबद्धता : प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मूल नाराका साथ प्रहरी प्रधान कार्यालय नक्सालमा सुरू भएको दुईदिने सम्मेलन गृहमन्त्री रमेश लेखकले उद्घाटन गरे । उनले पानसमा दीप प्रज्वलन गरी सम्मेलन उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा गृहमन्त्री लेखकले नेपाल प्रहरी सङ्गठनमा आवद्ध भई सङ्गठनलाई अझ गौरवान्वित बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रथम महिला प्रहरी चैतमाया डंगोल, अवकाश प्राप्त प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापा, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा र प्रहरी नायव निरीक्षक जुनी राईलाई सम्मानपत्र प्रदान गरे ।
सो अवसरमा उनले सम्मेलन विशेषाङ्कको विमोचन गर्नाका साथै सम्मेलनको ब्यानरमा हस्ताक्षर तथा महिला प्रहरीसम्बन्धी गीतको शुभारम्भ समेत गरेका छन् ।
समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले सम्मेलनको शुभारम्भले लामो इतिहास बोकेको नेपाल प्रहरी सङ्गठनका लागि आजको दिन ऐतिहासिक तथा उपलब्धिमूलक बनेको चर्चा गर्दै यस सम्मेलनको पूर्ण सफलताको कामना गरे । गृहमन्त्री लेखकले समाजले महिला र पुरूषलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै आजका दिनमा महिला दिदी बहिनीहरूले गरेका साहसिक तथा प्रेरणादायी कार्यहरूले अन्धविश्वास तथा परम्परालाई तोड्दै महिला पनि पुरूष भन्दा अगाडि छन् भन्ने कुरा स्थापित गर्न सफल भएको उल्लेख गरे ।
समारोहमा न्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, महान्यायाधिवक्ता रमेश वडाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेत एवम् ब्रिटिश दूतावास काठमाडौंका एक्टिङ डेप्युटी हेड अफ मिसन कमिल्ला सुग्देनले सम्मेलनको महत्व र औचित्यबारे चर्चा गर्दै आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै लैङ्गिक समानता र लैङ्गिक न्यायलाई मूलप्रवाहिकरण गर्ने उद्देश्य राखी नेपाल प्रहरीले शुभारम्भ गरेको यस सम्मेलन ऐतिहासिक रहेको उल्लेख गरे । नेपाल प्रहरीमा आवद्ध पूर्व महिला प्रहरी कर्मचारीहरूले गरेको योगदान अतुलनीय रहेको चर्चा गर्दै सङ्गठनमा महिला प्रहरी कर्मचारीहरूको सहभागिता बढ्दै गइरहेको वर्तमान अवस्थामा यस सम्मेलनले अवकाश प्राप्त महिला प्रहरी कर्मचारीहरूको अनुभवको आदान प्रदानका साथै आगामी दिनमा महिला प्रहरी कर्मचारीहरूलाई आवश्यक मार्गनिर्देशन गर्न कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा महिला प्रहरीको इतिहास र नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ सम्बन्धी वृत्तचित्र समेत प्रदर्शनी गरिएको थियो ।
समारोहमा गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू लगायत आमन्त्रित महानुभवहरूको उपस्थितिका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रदेशस्थित सम्पूर्ण महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
लैङ्गिक समानता र लैंङ्गिक न्यायलाई मूलप्रवाहिकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ को कार्यनीतिको कार्य योजनामा केन्द्रीय स्तरमा उक्त सम्मेलनको आयोजना गरिएको हो ।
हेर्नुहोस् तस्बिरहरू–
-1755798417.JPG)
-1755798413.JPG)
-1755798409.JPG)
-1755798407.JPG)
-1755798403.JPG)
-1755798401.JPG)
-1755798397.JPG)
-1755798396.JPG)