काठमाडौं । गृहमन्त्री रमेश लेखकले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भम्रण तथा जिल्ला प्रहरी परिसर काठमाडौंस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्ष अवलोकन गरेका छन् ।
आज शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका गृहमन्त्री लेखकले काठमाडौं उपत्यका प्रहरी कार्यालय एवम् मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई विभिन्न निर्देशन समेत दिएका छन् ।
निरीक्षण भ्रमणपछि आयोजित कार्यक्रममा उनले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गर्दै नागरिकलाई सरल एवम् सुलभ ढंगले प्रहरी सेवा प्रवाह गर्न र नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।
प्रहरी कार्यालयले दिने सेवालाई सर्वसुलभ र झन्झटरहित बनाउनुपर्नेमा जोड दिँदै शिष्ट आचरण एवम् व्यवहारका साथ सेवाग्राहीको समस्या एवम् गुनासोलाई सम्बोधन गर्न पनि उनले निर्देशन दिएका छन् ।
गृहमन्त्री लेखकले प्रहरीले निर्वाह गरेको काम कारबाही जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै मानव अधिकारको संरक्षण एवम् सम्वर्द्धनमा थप सजग भई महिला हिंसा, घरेलु हिंसा, बालबालिका एवम् ज्येष्ठ नागरिक विरूद्ध हुने गतिविधि प्रति थप संवेदनशील हुनुपर्ने बताए । त्यस्तै, लागूऔषध, आत्महत्या, साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध, सवारी दुर्घटना चुनौतिको रूपमा देखा परेकोले यस्ता चुनौतीको समाधान गर्न प्रविधिको उच्चतम प्रयोग गर्दै अझ बढी क्रियाशील हुनुपर्नेमा मन्त्री लेखकले जोड दिएका छन् ।
प्रहरीको भूमिकाको प्रशंसा
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुरक्षा कायम गर्न, कानूनको पालना, अपराध नियन्त्रण एवम् अनुसन्धान लगायतका कार्यहरूमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । नागरिक सँग प्रत्यक्ष सम्बन्ध राखि नागरिकका समस्यालाई सम्बोधन तथा समाधान गरी सुरक्षाको प्रत्याभूति दिलाउन अझ बढि क्रियाशील भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले आग्रह गरेका छन् ।
आफ्नो व्यवहार र आचरणलाई शिष्ट बनाई व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर नागरिकलाई केन्द्रमा राखेर उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा सचिव दुवाडीको जोड छ । प्रहरीलाई आवश्यक स्रोतसाधन, सुविधा सहितको पूर्वाधारहरू र प्रविधियुक्त बनाउनेतर्फ गृह मन्त्रालय सदैव क्रियाशील रहेको उनले बताए ।
स्रोतसाधन नभए पनि उत्कृष्ट कार्यसम्पादक
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान, ट्राफिक व्यवस्थापनका साथसाथै विपद् व्यवस्थापनमा समेत काठमाडौं उपत्यका प्रहरी कार्यालयले सीमित जनशक्ति, स्रोतसाधान एवम् प्रविधिका बाबजूद पनि प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको बताए । सूचना संकलनलाई अझ प्रभावकारी बनाउँदै शान्ति सुरक्षालाई थप मजबुद बनाउन उपत्यका प्रहरी कार्यालय सदैव क्रियाशील रहेको समेत उनले बताएका छन् ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, कार्यहरू, समस्या एवम् चुनौतीलगायत विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति थियो ।
हेरौँ तस्बिरहरू





