काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले पदोन्नति भएका आठ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ९ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा दुई जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा चार जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन १२ गतेको निर्णयले प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा दुई जना गरी जम्मा आठ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।
दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी उपरीक्षकहरू सुदन कुमार बिष्ट र उदय जंग बहादुर राणा, प्राविधिक प्रहरी नायव उपरीक्षकहरू धर्मानन्द भट्ट, सहकुल केसी, रितेश सिंह र उपेन्द्र कुमार ओझा तथा प्राविधिक प्रहरी निरीक्षकहरू राजेन्द्र लामा र सुदन श्रेष्ठ छन् ।

दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । आफ्नो जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई उच्च नेतृत्व क्षमता, सकारात्मक सोच र ऊर्जाका साथ संस्थागत विकास, सांगठनिक सुदृढीकरण तथा शुद्धीकरण र सङ्गठनको वृहत्तर हितका लागि सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन हुने विश्वास उनले व्यक्त गरे ।

प्रहरी महानिरीक्षक थापाले शान्ति सुरक्षा एवम् अपराध अनुसन्धान र नागरिकमैत्री प्रहरी सेवामा प्राविधिक सेवाको महत्वबारे चर्चा गर्दै प्रहरी सेवालाई थप प्रविधिमैत्री बनाउँदै समयसापेक्ष सुदृढ गर्दै लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गरे । प्राविधिक सेवालाई थप प्रभावकारी बनाउन पदोन्नतिसँगै बढेको थप जिम्मेवारी र दायित्वलाई प्रहरी अधिकृतहरूले सोही अनुरूप बहन गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी उपरीक्षक सुदन कुमार बिष्टले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यावसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे । दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।