काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले स्वास्थ्य सेवा जस्तो महत्वपूर्ण र चुनौतिपूर्ण सेवामा समर्पित अस्पतालका प्रहरी कर्मचारीहरूले सामूहिक भावनाका साथ थप व्यावसायिकता प्रदर्शन गर्दै उच्च मनोबलका साथ अब्बल र सेवाग्राहीमैत्री सेवामा कटिबद्ध हुनुपर्ने बताएका छन् ।
नेपाल प्रहरी अस्पताल महाराजगंजको बुधबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताएका हुन् ।

निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज भवनमा रहेका शैक्षिक कार्यक्रम स्थानको अवलोकन गर्नुका साथै ईमरजेन्सी डिपार्टमेन्ट, विभिन्न विभागहरू, वार्डहरू, फार्मेसी लगायत विभिन्न यूनिटहरूको निरीक्षण तथा अवलोकन समेत गरे । सोही अवसरमा उनले विरामी उपचार काजमा आएका बिरामीहरूसँग अन्तरक्रिया समेत गरेका छन् ।
प्रहरी महानिरीक्षक थापाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा अस्पतालले उचित परामर्श, असल व्यवहार र सहानुभूतिपूर्ण उपचारको माध्यमबाट सेवामा सबैको सरल र सहज पहुँचको वातावरण निर्माण गर्दै कार्यसम्पदान गर्नुपर्न बताए । कोभिड–१९ जस्तो महामारी र अन्य विषम परिस्थितिहरूमा विभिन्न कठिनाईहरूको सामना गर्दै निरन्तर रूपमा स्वास्थ्य सेवा प्रवाहमा अस्पतालले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै दूरदराजसम्म फैलिएर नागरिक सेवामा समर्पित नेपाल प्रहरीका बहालवाला कर्मचारीहरू, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, आश्रित परिवारजन र आमनागरिकको उपचारमा विगतका कमजोरीहरूलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक थापाले भौतिक र प्राविधिक रूपमा अस्पतालको स्तरोन्नति गर्ने, कार्यरत कर्मचारीको वृत्ति विकास गर्ने लगायतका विषयमा संगठन सदैव सकारात्मक रहेको र त्यसको लागि आवश्यक सहयोग गर्न आफू सदैव तत्पर रहेको बताएका छन् । अस्पतालका सेवाहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न संस्थाहरूसँग भएका समझदारीहरूलाई निरन्तरता दिई सुधारका नयाँ क्षेत्रहरूको पहिचान गरी ठोस योजना बनाएर नेपाल प्रहरी अस्पतालको विकास एवम् बिस्तारमा लाग्न तथा मनसुनजन्य विपद् र अन्य प्रकोपको उद्दारका लागि तयारी हालतमा रहन उनले निर्देशन दिए ।
अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा सोही अस्पतालकी प्राविधिक प्रहरी उपरीक्षक डा. समृद्धि कार्कीले अस्पतालको पृष्ठभूमि, मानवश्रोत व्यवस्थापन, उपलब्ध सेवा तथा सेवाग्राहीहरूको विवरण, उपकरण र नयाँ प्रविधिको प्रयोग, विभिन्न निकायसँगको समन्वय, कल्याण कोष सम्बन्धी जानकारी, कार्यान्वयनमा रहेका नीतिगत निर्णयहरू, कर्मचारी लक्षित कार्यक्रमहरू, समस्या तथा चुनौतीहरू र भावी कार्ययोजना लगायतका विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति थियो ।