काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको विपद् व्यवस्थापन पूर्वतयारीको निरीक्षण गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विपद् व्यवस्थापन पूर्वतयारीको गृहमन्त्री लेखकले हिजो मंगलबार निरीक्षणका साथै निर्देशन सम्बोधनसमेत गरेका छन् । त्यस क्रममा विपद् व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन एवम् विपद् उद्दार सामग्रीहरूको अवलोकनसमेत गरे ।
सो अवसरमा गृहमन्त्री लेखकले नेपाल प्रहरीले सूचना संकलन एवम् पूर्वानुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने बताएका छन् । विपद् व्यवस्थापनमा विगतमा भएका कमी कमजोरीहरूको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरू सक्रिय रहन निर्देशन दिएका छन् ।
विपद् व्यवस्थापनमा स्थानीय तह एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी जनताले महसुस गर्न सक्ने गरी उत्कृष्ट कार्य गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई उले निर्देशन गरेका छन् ।
कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद् व्यवस्थापनमा सूचना संकलन र आपसी समन्वय महत्वपूर्ण हुने चर्चा गर्दै नेपाल प्रहरीले अन्य सुरक्षा निकायहरूसँग आपसी समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । आम नागरिकले संकटको बेला सुरक्षा निकायहरूलाई आशाको केन्द्रको रूपमा लिने हुनाले त्यस्तो परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पदान गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान गर्न, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनमा नेपाल प्रहरीले आफ्नो क्षमता र उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गरी कुशलतापूर्वक जिम्मेवारी वहन गर्दै आएको बताए । सबै किसिमका आपतकालीन घटनामा अग्रपंक्तिमा रहेर प्रहरीले बहुआयामिक भूमिका निर्वाह गर्दै आएको र निरन्तर गरिरहने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।
प्रहरी महानिरीक्षक थापाले विपद् व्यवस्थापनमा परिकल्पना भन्दा बाहिरका परिस्थिति र सुरक्षा चुनौति देखा पर्न सक्ने हुनाले पूर्व तयारीलाई पहिलो प्राथमिकतामा राखेर विपद्का सम्भावित चुनौतीहरूको पूर्व आकलन र ती चुनौतीहरूको सामना गर्न उपलब्ध जनशक्ति र स्रोतसाधनलाई तयारी हालतमा राखिएको बताए । साथै विपद् व्यवस्थापनमा स्थानीय तह एवम् अन्य सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गरी उच्च मनोबलका साथ तयारी हालतमा रहन प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले विपद् व्यवस्थापन पूर्व तयारी सम्बन्धी आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा निमित्त सशस्त्र प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिका साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरू एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
-1749019888.JPG)
-1749019890.JPG)
-1749019887.JPG)
-1749019885.JPG)
-1749019884.JPG)
-1749019882.JPG)
-1749019880.JPG)
-1749019879.JPG)