काठमाडौं । महोत्तरी, बारा, प्यूठान, रुकुम (पश्चिम), झापा, बाँके र दाङका छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
महोत्तरीको महोत्तरी गाउँपालिका–६ गोरिगामामा प्र.२-०२-००१ त ००६४ नम्बरको ट्रयाक्टर आइतबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका-५ बहेरा बस्ने १८ वर्षीय सरोज डोम छन् ।
बाराको पचरौता नगरपालिका-८ लंगडाचोक डोर पुलमा प्रदेश नम्बर २-०३-०१४ प ४०१६ नम्बरको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट ईशनाथ नागरपालिका-२ औरैया टोल बस्ने ३० वर्षीया मिना देवी रहेकी छन् ।
प्यूठानको प्यूठान नगरपालिका-४ बिजुवारमा रा.१ क ८८१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने १५ महिने बालक युनिक कार्कीको आइतबार दिउँसो मृत्यु भएको छ ।
रुकुम (पश्चिम)को आठबिकोट नगरपालिका-४ तिलमा भे.२ त ५४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ बस्ने ३९ वर्षीय मोति प्रसाद खड्काको घटनास्थलमै मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका-२ रामचोकमा ना.६ ख ६४५५ नम्बरको ट्रकले बा.१५ प ८२०२ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका-२ बस्ने २९ वर्षीय संयम बजगाईँ रहेका छन् ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका-११ बिपि चोकमा प्रदेश नम्बर ३-०१-०२३ च ८४८१ नम्बरको कारको ठक्करबाट ३ जना पदैलयात्रीको आइतबार राति मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही उपमहानगरपालिका-११ सोनारमण्डी बस्ने ६५ वर्षीया समिना ईद्रिसी, ५ वर्षीय अली अन्सारी र ५ वर्षीय कलिम ईद्रिसी रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको नर्सिङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङको घोराही उपमहानगरपालिका-७ नागडाँडामा रा.५ प ५१८५ नम्बरको मोटरसाइकल रा.१ त ४६७८ नम्बरको ट्रयाक्टरमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१६ बयरडाँडा बस्ने २२ वर्षीय निसान्त चौधरी रहेका छन् ।