काठमाडौं । महानगरपालिका-१६ नयाँबजारस्थित समृध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं एयरपोर्ट बस्ने जुम्ला गुठीचौर गाउँपालिका-५ ठेगाना भएका २६ वर्षीय देबी प्रसाद धिताल, काठमाडौं स्वयंभू बस्ने धादिङ धुनबेशी नगरपालिका-३ ठेगाना भएका ३० वर्षीय शंकर रेग्मी, काठमाडौं सानोभर्याङ बस्ने डडेलधुरा महाकाली नगरपालिका-२ ठेगाना भएका २८ वर्षीय हिक्मत महता, काठमाडौं चक्रपथ बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-४ झलारी ठेगाना भएका २७ वर्षीय सुबाष रतोकी रहेका छन् ।
त्यस्तै काठमाडौं मित्रनगर बस्ने कञ्चनपुर शक्लाफाँटा नगरपालिका-२ झलारी ठेगाना भएका ३४ वर्षीय मिलन बोहरा, मित्रनगर बस्ने पाँचथर याङ्गक गाउँपालिका-८ च्याङ्थापु बस्ने ३२ वर्षीय लिम्बु भन्ने भविन्द्र बेगा, मित्रनगर बस्ने दैलेख नौमुले गाउँपालिका-५ सल्लेरी ठेगाना भएका २७ वर्षीय जिवन भन्ने योगेन्द्र बहादुर चन्द र काठमाडौं सामाखुसी बस्ने प्युठान गौमुखी गाउँपालिका-६ ठेगाना भएका २१ वर्षीय भिटेन, संगित थापा भन्ने कमल सुनार रहेका छन् ।
उक्त फार्मेसीका संचालकलाई हामी प्रहरी हौं, तपाईँको पसलमा अबैध औषधि बिक्री बितरण गर्ने गरेको छ भन्ने सूचना आएकाले हामी खानतलासी गर्न आएका हौं भनि फागुन १२ गते साँझ नियन्त्रणमा लिई पसलको काउन्टरमा भएको नगद, १ थान मोबाइल, १ थान घडी, ई-सेवामा पठाएको नगद ११ हजार ७ सय रुपैयाँ र स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको खातामा रहेको नगद ३ हजार ५ सय रुपैयाँ गरी जम्मा ६५ हजार रुपैयाँ जबरजस्ती लुटपाट गरी फरार रहेका उनीहरूलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ११ थान मोबाइल, १ थान घडी, १ थान नागरिकता प्रमाणपत्र, ५ थान एटिएम कार्ड र २ थान बैंक चेक बरामद गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।