काठमाडौं । काठमाडौंसहित विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरमा बा.६४ प १३९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पैदलयात्रीलाई समेत ठक्कर दिँई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक आरुबारी बस्ने ओखलढुंगा घर भएका ३० वर्षीय शिवराज कार्की र पैदलयात्री गोपीकृष्ण बस्ने ओखलढुंगा हर्कपुर गाउँपालिका घर भएका ६१ वर्षीय दुर्गा बहादुर कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका शिवराजको हेल्पिङ ह्याण्ड अस्पताल चावहिलमा र दुर्गा बहादुरको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी चितवन भरतपुर महानगरपालिका-१३ गंगानगर बस्ने ४२ वर्षीय रामकृष्ण महत्तोको घरमा पार्किङ् गरी राखेको बागमती प्रदेश ०३-००१ ह १३२५ नम्बरको अटो मंगलबार साँझ आफैँ पछाडी गुडेर सोही ठाउँ बस्ने रुपा गुरुङको १८ महिने छोरा लाभाङ गुरुङलाई किच्दा घटनास्थलमै मृत्यु भएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बारा कोल्हबी नगरपालिका-६ अधन्वास्थित सडकमा ना.६४ प ७२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीया भोलिया देवी थरुनीको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सूर्य अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी दाङ घोराही उपमहानगरपालिका-१७ उखुबारीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१५ थारुगल्ली बस्ने १८ वर्षीय अजय चौधरीको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । घटनामा शंकाष्पद २ वटा मोटरसाइकलका चालकहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी दाङकै गढवा गाउँपालिका-२ महादेवा पुलस्थित सडकमा लु.२ च ७६८२ नम्बरको कार र रा.४ प ३४६१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका-६ सगरापुर बस्ने १० वर्षीया सन्धाय चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पैदलयात्री समेत अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेकोमा १ जना थप उपचारको लागि कोहलपुर रिफर गरिएका छन् । दुबै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी दार्चुला व्याँस गाउँपालिका-४ स्थित सडकमा से.२ त १७९९ नम्बरको ट्राली नजोडेको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार बझाङ चिर बित्थड गाउँपालिका-२ बस्ने २३ वर्षीय वीरेन्द्र खड्काको ट्याक्टरले च्यापिएर घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रहेका ट्याक्टरका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।