काठमाडौं । रौतहट, बारा, ललितपुर, प्युठान, धनकुटा, कैलाली, सिन्धुली, बाँके र सिन्धुपाल्चोकका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रौतहट यमुनामाई गाउँपालिका-५ झुनखुन्वा चोकस्थित सडकमा यूके बाह्र सी २९०० नम्बरको कार अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा कारमा सवार हाल नाम, थर, वतन नखुलेका ४ जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी रौतहट गौर नगरपालिका-८ हनुमान चोकमा प्र.२-०३-००१ ह-४२५ नम्बरको ई-रिक्साबाट खसेर राजदेवी नगरपालिका-६ कडवाना टोल बस्ने ६० वर्षीया रमिला देवीको शनिबार साँझ मृत्यु भएको छ । उक्त रिक्साबाट खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल गौरमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बारा कोल्हबी नगरपालिका-१ बटौलिया चोकमा ना.४२ प ८०२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही ठाउँस्थित बटौलिया स्वास्थ्य चौकीको भवनमा ठोकिएर शनिबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार कोल्हबी नगरपालिका-१ बस्ने २० वर्षीय सागर चौधरी र सोही ठाउँ बस्ने १९ वर्षीय सुशिल चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका १ जनाको न्यूरो अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोलमा बागमती प्रदेश ०२-०२६ प ८१५५ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-९ लामाटार बस्ने ३७ वर्षीय बिनोद बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि बिएण्डबि अस्पताल ललितपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु हो ।
यसैगरी प्युठान सरूमारानी गाउँपालिका-२ ददेरीस्थित सडकमा रा.४ प ५०४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १२ वर्षीय सुदिप जिसीको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि भालुवाङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनकुटा पाख्रिबास नगरपालिका-८ लुम्बुवा टोलस्थित सडकमा को.२ त १०४३ नम्बरको ट्याक्टर अनियन्त्रित ई शनिबार दिउँसो दुर्घटना हुँदा सोही ट्याकटरमा च्यापीएर ट्याक्टर चालक सोही नगरपालिका-७ थाक्ले बस्ने २१ वर्षीय टंक बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी कैलाली कैलारी गाउँपालिका-८ लौशास्थित सडकमा भे.११ प ७३२४ नम्बरको मोटरसाइकल र सुदूर पश्चिम प्रदेश ०१-००२ त ४१४६ नम्बरको ट्याक्टर एक-आपसमा ठोकिएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-८ बस्ने २२ वर्षीय बिशाल कठरियाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सिन्धुली सुनकोशी गाउँपालिका-५ डिहीस्थित सडकमा बा.३ ख ८२३ नम्बरको मिनी ट्रकको ढालाबाट खसेर सोही गाउँपालिका-५ काशीखर्क बस्ने ५८ वर्षीय बिष्णु बहादुर थापाको शनिबार साँझ मृत्यु भएको छ । ढालाबाट सडकमा खसेर बेहोस भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बाँके नेपालगंज उपमहानगरपालिका-१८ भाटभटेनीस्थित सडकमा भे.९ प ७४६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१८ बस्ने ४५ वर्षीय बिक्रम राईको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि नर्सिङ होम नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-१ फुर्स्रेस्थित सडकमा बा.५ ख ६५६३ नम्बरको ट्रक सडकबाट करिब ८० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा ट्रक चालक जुगल गाउँपालिका-२ बस्ने ३४ वर्षीय सिताराम दोङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि चौतारा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।