काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागूऔषध खैरो हेरोइन सहित ९ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दाङ राप्ती नगरपालिका-१ ठेगाना भएका २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका-४ ठेगाना भएका २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय बिनोद नाथ योगी, काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने सिन्धुपाल्चोक वलेफी गाउँपालिका-४ ठेगाना भएका ३२ वर्षीय गौतम केसी, काठमाडौं बुढानिलकण्ड नगरपालिका-१० पाथिभर टोल डेरा गरी बस्ने मोरङ पथरी नगरपालिका-१ ठेगाना भएका २५ वर्षीय मिजम तामाङ, काभ्रे धुलिखेल नगरपालिका-२ ठेगाना भएका ३८ वर्षीय शुसिल श्रेष्ठ, भोजपुर टेम्केमयुङ गाउँपालिका-९ मजुवा ठेगाना भएका २६ वर्षीय मिडे शेर्पा, काठमाडौं महानगरपालिका-१० शान्तिनगर डेरा गरी बस्ने बर्दिया गेरुवा गाउँपालिका-५ ठेगाना भएका ३० वर्षीय दिपु भन्ने रणदिप थापा र सोही गाउँपालिका-२ ठेगाना भएका २६ वर्षीय शिरिष खत्री रहेका छन् ।
उनीहरूमध्ये प्रयास थापालाई १ सय मिलिग्राम खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित सडक किनारबाट सोमबार, सागर शाहीलाई २८ ग्राम खैरो हेरोइन तथा नगद ७५ हजार ५ सय रुपैयाँ सहित काठमाडौं महानगरपालिका-२९ बाट मंगलबार, बिनोद नाथ योगीलाई १ थान डिजिटल तराजु सहित काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ स्थित सडक किनारबाट मंगलबार, गौतम केसीलाई ५ सय मिलिग्राम खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका-६ बौद्ध सडक किनारबाट सोमबार, मिजम तामाङलाई ४ ग्राम ५ सय मिलीग्राम खैरो हेरोइन तथा नगद ३५ हजार रुपैयाँ सहित उनकै डेराकोठाबाट सोमबार, शुसिल श्रेष्ठलाई १ ग्राम खैरो हेरोइन तथा नगद ९ हजार ५ सय रुपैयाँ सहित मिजम तामाङको डेराकोठाबाट सोमबार, मिडे शेर्पालाई २२ ग्राम खैरो हेरोइन, डिजिटल तराजु तथा ७ थान आईएमईको रसिद सहित काठमाडौं महानगरपालिका-७ गंगाहिटी सडक किनारबाट सोमबार, रणदिप थापालाई साथबाट ३ ग्राम खैरो हेरोइन तथा नगद ९ हजार ५ सय रुपैयाँ र उनकै डेराकोठाबाट थप २१ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइन तथा डिजिटल तराजु सहित बुधबार र उनीसँगै रहेका शिरिष खत्रीलाई नगद ४ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूउपर थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।