काठमाडौं । महोत्तरी, मकवानपुर, धनुषा, कास्की र सप्तरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार महोत्तरी पिपरा गाउँपालिका-५ स्थित सडकमा ज.१२ प ४९७७ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सिन्धुली मरिनखोला नगरपालिका-१ बस्ने ३८ वर्षीय हरि बहादुर भुजेलको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ मनकामना चोकमा ना.३ त ३६६८ नम्बरको ट्याक्टरले ना.२ ह ५८६५ नम्बरको अटोलाई मंगलबार राति ठक्कर दिँदा अटोमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय पदम बहादुर बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषा क्षिरेश्वरनाथ नगरपालिका-१० गोपालपुरस्थित सडकमा ज.१ त ६६०३ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँस्थित मामाघर बस्ने महोत्तरी पिपरा गाउँपालिका-३ रतौल घर भएका शम्भु मोचीको छोरा १० वर्षीय आकाश महराको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचार पश्चात थप उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी कास्की पोखरा महानगरपालिका-२५ हेम्जास्थित सडकमा सागर एकेडेमी बोर्डिङ स्कुल हेम्जाको ना.१ क २३७३ नम्बरको स्कुल बसबाट खसेर सोही स्कुलमा यूकेजीमा अध्ययनरत ८ वर्षीय रोमन तामाङको मंगलबार दिउँसो मृत्यु भएको छ । बसबाट खसेर गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सप्तरी खडक नगरपालिका-७ कल्याणपुर चोकमा को.१ ख ७७८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया ठण्डेश्वरी भगतको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको युनिक अस्पताल रुपनीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।