सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले गएको एक महिनाको अवधिमा विभिन्न मुद्धाका २३८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको छ । जसमा ५ दिनदेखी २० वर्ष सम्म कैद सजाय तोकिएका प्रतिवादीहरु छन् ।
साउन १ गतेदेखी हाल सम्म सम्मानित सुनसरी अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरी सम्मानित जिल्ला अदालतमा पेश गरेको हो ।
कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकी फरार रहेका प्रतिवादीहरुबाट ४९ वर्ष कैद सजाय फर्छ्योट भएको छ भने ९ लाख ३५ हजार ३ सय १९ रुपैया जरिवाना समेत असुल भएको छ ।
सुनसरी प्रहरीको फरार पक्राउको यस अभियानले अपराधीक घटना घटाई समाजमा निस्फिक्री हिड्ने प्रवृतिका विरुद्द लक्षित छ । अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिदैन भन्ने सन्देश यो अभियानले दिएको छ ।
फरार प्रतिवादी पक्राउका क्रममा मिति २०६६ बैशाख १६ गते आफ्नी नातिनी ५ वर्षीया सोशिला कुमारी खत्वेलाई घाटी वटारी मारेर प्लाष्टिकको बोरामा हालेर खेतमा गाडी फरार रहेका वसन्त खत्वे समेत रहेका छन् । उनलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट जन्म कैद सजाय तोकिएको थियो ।