बाँके । नेपालगंज उपमहानगरपालिका-४ बसपार्क रोडस्थित पूर्ण प्रसाद गौतमको गौतम ईलेक्ट्रोनिक्स एण्ड मोवाइल सप्लायर्सबाट गत शुक्रबार विभिन्न कम्पनीका मोवाईल, घडी, एमपिथ्री, विभिन्न वैंकहरुको चेक गरी करिब १० लाख रुपैयाँ मूल्य बराबरको सामानहरू चोरी गरेको अभियोगमा ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-९ बस्ने २४ वर्षीय सुमित शर्मा, सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई चोरीका विभिन्न कम्पनीको ३६ थान मोबाइल, ६ थान घडी र १ थान एमपिथ्री सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुले चोरी गर्ने योजना बनाई फलामको रडले पसलको सटर तोडी २ जना पसलभित्र पसेको, १२ वर्षिया बालकले पसल बाहिर बसि रेक्की गरेको, चोरीका सामान बोरामा राखी लिएको, चोरी गरेको मोबाइल सुमितले राखेको, घडी र एमपिथ्री १८ वर्षीय किशोरले लिएको र बालकलाई चोरीको मोबाइल र घडी विक्री गरेपछी पैसा दिने भनि सहमती भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।