काठमाडौं । काठमाडौं, अछाम, मकवानपुर, महोत्तरी, चितवन र रुपन्देहीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-२६ नयाँबजार मनाङगेट नजिक सडकमा प्र.न.०२-०१९ प.९९५९ नम्बरको मोटरसाइकललाई प्र.न.०३ -०१-००३ क ४९९४ नम्बरको आईचर क्रेनले आइतबार दिउँसो ठक्कर दिंदा मोटरसाइकल चालक काठमाडौं टोखा नगरपालिका-४ बस्ने २० वर्षीय पुजन नगर्चीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो । आईचर क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी अछाम मंगलसेन नगरपालिका-१४ कालागाउँस्थित सडकमा कालागाउँबाट ठाँटीखादतर्फ जाँदै गरेको अन टेष्ट लेखिएको जेसिबी अनियन्त्रित भई सडकबाट अन्दाजी ७० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा जेसिबीमा सवार ढकारी गाउँपालिका-२ बस्ने ३६ वर्षीय राम बहादुर साँउदको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जेसिबीका सह-चालक समेत २ जनाको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ । हाल फरार जेसिबी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बसामाडी लेवटस्थित सडकमा हेटौंडा बजारबाट नेवारपानीतर्फ जाँदै गरेको ना.२२ प ६७७८ नम्बरको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी महोत्तरी मनरा सिसवा नगरपालिका-२ भोल्ही चोकस्थित सडकमा सरपल्लोबाट भोल्हीचोकतर्फ जाँदै गरेको अन टेष्ट लेखीएको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय मोहिम मसुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी चितवन भरतपुर महानगरपालिका-१ मुग्लिङ नारायणगढ सडक-खण्डमा नारायणगढबाट मुग्लिङतर्फ जांदै गरेको बा.२ ख ९३६१ नम्बरको हाईस गाडीको ठक्करबाट भरतपुर महानगरपालिका-२९ भतेरी बस्ने ८२ वर्षीया सुकमाया मगरको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रुपन्देही तिलोत्तमा नगरपालिका-६ स्थित भित्री सडकमा लु.२९ प ७०८५ नम्बरको मोटरसाइकल बाटोमा हिडिरहेको स्यालसँग ठोकिएर सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-६ गणेशपुर बस्ने १९ वर्षीय गोमन घर्तीमगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।