काठमाडौं । झापा, धनुषा र कैलालीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार झापा भद्रपुर नगरपालिका-२ स्थित सडकमा मे.१ त २८२१ नम्बरको ट्याक्टरमा मे.१ ह ६४१९ नम्बरको अटो ठोकिएर शुक्रबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सोही नगरपालिका-१ केन्द्रमोड बस्ने ३६ वर्षीया नानी भन्ने छबिमाया लिम्बुको घटनास्थलमै तथा भद्रपुर नगरपालिका-१ बस्ने ४० वर्षीय डम्बर बहादुर लिम्बुको ओमसाई पाथिभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका अटोका चालकलाई थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लगिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषा गणेशमानचारनाथ नगरपालिका-६ गोदारस्थित सडकमा स.१० प ४३९५ नम्बरको मोटरसाइकल र ज.१२ प ८९५४ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ज.१२ प ८९५४ नम्बरको मोटरसाइकल चालक महोत्तरी गौशाला नगरपालिका-२ बस्ने आयुब नदाफको फुल कुमारी मेमोरियल अस्पताल कर्जनाहा सिरहामा र स.१० प ४३९५ नम्बरको मोटरसाइकल चालक सिरहा लहान नगरपालिका-१५ बस्ने २८ वर्षीय साजन चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी कैलाली लम्कीचुहा नगरपालिका-६ स्याउलेस्थित सडकमा से.३ प ५९५४ नम्बरको मोटरसाइकल चौपायसँग ठोकिएर शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक जोशीपुर गाउँपालिका-२ बस्ने २६ वर्षीय पदम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल हुँदै कोहलपुर मेडिकल कलेज नेपालगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।