काभ्रे । सवारी दुर्घटना गरी फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । केही समय अघि काभ्रेको बनेपामा सवारी दुर्घटना गरी फरार भएका चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुुसार गत जेठ २४ गते साँगाबाट धुलिखेलतर्फ आउँदै गरेको तत्काल एकिन सवारी नम्बर नखुलेको सवारी साधनले बनेपाको पुरानो तरकारी बजारमा तरकारी व्यावसाय गर्दै आएका पाँचखाल नगरपालिका वडा नं १ का ७१ वर्षीय नन्दकेशर तिमल्सिना र झापा जिल्लाको लखनपुर दमक गा.पा.वडा नं.८ घरभई हाल बनेपा नगरपालिका वडा नं.५ बस्ने ३० वर्षीया सबिना बाँनिया राई ठक्कर दिएको थियो ।
दुबैजनालाई सख्त घाईते बनाई चालक र सवारी वारदात पश्चात भागी फरार भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले जानकारी दिए ।
अनुसार घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा घाईते मध्ये नन्दकेशर तिमल्सिनाको भएको उनले बताए । दुर्घटनामा घाइते भएकी सबिना बाँनिया राईको उपचार पश्चात यहि असार १८ गते डिस्चार्ज गरिएको थियो ।
उक्त घटनाको अनुसन्धानको क्रममा शंकास्पद दर्जनौ सवारी साधन, सवारी चालक र सर्वसाधारणलाई सोधपुछ गर्ने क्रममा उक्त शंकास्पद सवारी साधनको सम्बन्धमा महत्वपूर्ण जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीको विशेष अनुसन्धान टोली परिचालन गरिएको ह्युमन इन्टिलिजेन्स र विविध प्राविधिक पक्षहरुको विश्लेषणको आधारमा सवारी दुर्घटना पश्चात फरार व्यक्तिलाई पक्राउ गरिएको सूचना अधिकारी डीएसपी खतिवडाले जानकारी दिए । उनका अनुसार प्रहरीको अनुसन्धान टोलीले दुर्घटना गराउने चालक सहति सवारी साधान नम्बर पनि पत्ता लगाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटना गराउने माजडा कम्पनीको ना४च ४०६९ नं को सवारी चालक रामेछाप जिल्लको उमाकुण्ड गाउँपालिका वडा नं १ का ३९ वर्षीय दोर्जे शेर्पा रहेका छन् ।
शेर्पालाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोग र यस कार्यालयको संयुक्त अनुसन्धान टोलीले वारदात पश्चात प्रहरीबाट बच्नको लागि विभिन्न स्थान हुदै आफ्नो स्थायी वतनमा लुकीछीपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
शेर्पालाई कानुनबमोजिम पक्राउ गरी ज्यान सम्बन्धी कसुर (सवारी ज्यान) मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।